INSEC Online

📅 २०८३ जेष्ठ २१

गैरकानुनी रूपमा भारत लगिँदै गरेका १९ जना बालकको सीमाबाट उद्धार

विगत ६ वर्षदेखि १५ वर्ष उमेर समूहका १९ जना नेपाली बालकहरूलाई गैरकानुनी रूपमा भारतको कर्नाटक राज्यमा लैजाँदै गर्दा ०८२ जेठ ५ गते सिद्धार्थनगर नगरपालिकाको सुनौली-बेलहिया सीमा नाकाबाट उद्धार गरिएको छ । बालकहरूलाई ल्याउने व्यक्तिहरू नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका-३ का ३४ वर्षीय ढक्पा जमयाङ लामा र काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नपा-११ का ३० वर्षीय केल्साङ तामाङलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको छ ।

भारतको कर्नाटकस्थित स्यार ध्याङदेन बौद्ध गुम्बामा अध्ययन गराउन अभिभावक बिना लगिएका नाबालकलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरी र शुभअवसर ग्रामको समन्वयमा उद्धार गरिएको हो । विदेशी मुलुकमा गुम्बा पढाउन भन्दै लैजादै गरेका बालकहरूको साथमा बालकहरूको जन्मदर्ता र अभिभावकको मञ्जुरी नामा लेखेको कागज फेला परेको भए पनि विदेशी मुलुकमा लैजानका लागि आवश्यक अन्य कागजात नभएको प्रहरीले जनाएको छ ।

उद्दार गरिएका १९ जना बालकहरूलाई अहिले बाल हेल्पलाइन १०९८ मा राखिएको र ती मध्ये तीन जना बालकलाई कन्टोल गर्न नसकेकोले जिल्ला प्रहरी कार्यालयमा पठाइएको बाल हेल्पलाइन १०९८ का प्रमुख विष्णु पौडेलले बताउनु भयो । भारतमा रहेका विभिन्न बौद्ध गुम्बामा पढाउने भनेर नेपाली बालकलाई गैरकानुनी रूपमा भारतमा ल्याउने गरिएका घटना यसभन्दा पहिला पनि धेरै पटक भइसकेको उहाँले बताउनु भयो । यस्ता नेपाली बालकलाई यसभन्दा अगाडि पनि धेरै पटक प्रताडित गरिएको अवस्थामा उद्धार गरेर स्वदेश फिर्ता पठाइएको प्रहरीको अनुभव छ । अभिभावक बिना कुनै पनि बालकलाई अर्को देशमा लैजानुपर्दा सरकारी स्तरबाटै कागजात हुनुपर्ने प्रावधान रहे पनि सरकारी निकायसँग कुनै समन्वय नगरेको देखिन्छ ।

‘उनीहरूलाई गुम्बामा पढाउने भनेर अभिभावकसँग सहमति गरेर भारत लगिएको रहेछ । तर प्रक्रिया नपुर्‍याइकन लगिएकाले बालकहरूलाई अभिभावक समक्ष पुग्ने व्यवस्था मिलाउँदै छौँ’ जिल्ला प्रहरी कार्यालयका एसपी प्रदिप बहादुर क्षेत्रीले भन्नुभयो । एसपी क्षेत्रीले अर्को देशमा बालकलाई लैजाँदा सरकारी कागजात आवश्यक पर्ने बताउँदै अभिभावक बिना बालबालिकालाई नेपालबाट विदेश लैजानुपर्दा स्थानीय स्थानीय तहस्थित बाल कल्याण अधिकारी, सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै गृह मन्त्रालयबाट अनुमति सहितको कागजात हुनुपर्ने कानुनी प्रावधान छ । सो अनुसार नदेखिएकोले बालकहरूको उद्दार गरी सुरक्षित आवाश गृहमा राखिएको र दुई जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

पढाउने भनेर भारतका विभिन्न गुम्बामा पुर्‍याइएका कयौँ नेपाली बालक त्यहाँको कठोर अनुशासन सहन नसकेर र अभिभावकसँग सम्पर्क नगराइएकाले अत्यास मानेर आत्महत्या गरेका घटना धेरै आउने गरेको प्रदेश समन्वय केन्द्र १०४ बुटवलका प्रमुख रीता भुसालले बताउनु भयो । गुम्बाहरूले आर्थिक सहयोग जुटाउनका लागि पनि नेपाली बालकको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

अन्य

भिडियो