शहिद नगर नगरपालिका-५ की २४ वर्षीया शान्तिदेवी शर्मालाई निजका पति २५ वर्षीय कमलेश शर्माले दाइजोको निहुँमा कुटपिट गरेको आरोपमा पीडितका बुबाले इलाका प्रहरी कार्यालय यदुकुहामा ०८२ जेठ ५ गते उजुरी दिनुभएको छ ।
आरोपितले ज्वाईले छोरीलाई थप दाइजोको निहुँमा बारम्बार कुटपिट तथा शारीरिक मानसिक यातना दिने गरेकोले बाध्य भई उनको विरुद्ध उजुरी दिएको पीडितका बुबा रामबाबु शर्माले बताउनु भयो ।
आरोपित पतिले जेठ ५ गते तिमी आफ्नो माइतबाट थप दाइजो स्वरुप ५ लाख रुपियाँ मागेर ल्याउ भन्दै कुटपिट गरेको पीडितका बुबा रामबाबु शर्माले बताउनु भयो । कुटपिटका कारण छोरीको दाहिने हात र पेटमा चोट लागेकोले उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको रामबाबु शर्माले बताउनु भयो ।
पीडितका अनुसार ०७९ फागुन ५ गते मेरो विवाह कमलेश शर्मासँग समाजिक परम्परा अनुसार भएको थियो । विवाहमा सुन, चाँदी, मोटरसाइकल र अन्य सामाग्रि समेत १९ लाख रुपियाँ बराबरको दाइजो दिएको भए तापनि ०७९ चैत १८ गते थप दाइजोको माग गर्दै आरोपित पतिले कुटपिट गरी घाइते बनाएको पीडित महिलाले बताउनु भयो । जसका कारण जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा चार दिनसम्म आफ्नो उपचार गराएको पीडित महिलाले बताउनु भयो ।
त्यसैगरी, आरोपित पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ०८० वैशाख ३ गते उजुरी दिएकोमा वैशाख १२ गते हामी दुई पक्षबीच छलफल भएको थियो । छलफलमा आरोपितले आफ्नो गल्ती स्वीकारदै गल्ती नदोहोर्याउने भनी सहमति भएको पीडित महिलाले बताउनु भयो ।
पीडित पक्षका अनुसार ०८० साउन ४ गते छोरीले आरोपित पतिलाई विवाहदर्ता बनाइदिन आग्रह गर्दा समेत निजले कुटपिट गरेको र उक्त घटनालाई सामाजिक स्तरमै छलफल गरी विवाह दर्ता बनाइदिने भनि सहमति भएको थियो ।
उजुरी पश्चात आरोपित पति फरार रहेकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय यदुकुहाका इन्स्पेक्टर ओमप्रकाश यादवले जानकारी दिनु भयो ।