गाउँमा भएका पानीका मुहान सुकेपछि दोगडाकेदार गाउँपालिका–२ बणियाबासी एक जर्किन पानीका लागि दिनभरि भौँतारिनु पर्ने अवस्था छ । परम्परागत पानीका न्वालो (कुवाँ) सुकेपछि सो गाउँमा पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु भए पनि बजेट अभावका कारण अहिलेसम्म योजना पूरा नहुँदा बणियाँमा खानेपानीको चरम अभाव भएको हो ।
बणियागाउँका चार ओटा टोल कणेली, ढाँण, पातली र बणियाँमा खानेपानीको चर्को समस्या छ । चार टोलका करिब १ हजार घरपरिवार एक जर्किन पानीका लागि दिनभरि दौडधुप गरिरहेको स्थाानीय उपभोक्ता देवराज जोशीले बताउनु भयो ।

बणियामा खानेपानी पु¥याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि ३ करोड ९६ लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाएर कार्यान्वयन गरे पनि बजेट अभावका कारण सो योजना अहिलेसम्म पूरा हुन सकेको छैन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बैतडीमार्फत कार्यान्वयन भइरहेको उक्त योजनाका चार ओटा स्किममध्ये तीन ओटा स्किम लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युतका पोल गाडेर तार तान्ने काम पूरा भएको डिभिजन खानेपानी कार्यालय, बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताउनु भयो ।
उहाँले पुराना योजनामा प्रयाप्त बजेट नआउँदा बर्सेनि थपिने नयाँ योजनामा काम गर्नुपर्दा अलमल भइरहेको र प्रदेश सरकारले माथिबाटै नयाँ योजना तोकेर पठाएपछि सोही अनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
खानेपानी योजनामा राजनीतिक पहुँचका भरमा बजेट आउने भएकाले बणियावासी अन्यायमा परेको स्थानीय केशव भाटले बताउनु भयो ।

बजेट अभावकै कारण बणियागाउँमा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र परेको र पानी नपाएर भोकै बस्नुपर्ने अवस्था आएपछि एक जर्किन पानी भर्न दुई घण्टा उकाली ओराली गरेर पानी भर्दै मुस्कीलले समस्या समाधान गर्नु परेको उहाँले दुखेसो पोख्नु भयो ।
जिल्लामा पछिल्लो समय डोजरले जथाभावी सडक निर्माण गर्दा अधिकांश पानीका मुहान सुकेका छन् । परम्परागत कुवाँ, न्वालो र पँधेरा सुकेपछि जिल्लामा १ सय भन्दा बढी लिफ्ट खानेपानी योजना सञ्चालनमा छन् । थप २४ ओटा व्रmमागत र चालु आर्थिक वर्षमा २७ गरेर ५१ ओटा लिफ्ट खानेपानी योजनाको काम चलिरहेको छ । जलवायु परिवर्तन, सडक निर्माण र डढेलो जस्ता कारणले पानीका मुहान सुक्दै गएको पाइएको छ ।