INSEC Online

📅 २०८३ जेष्ठ २१

जोमसोम अस्पतालमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीलाई सास्ती !

मुस्ताङको सदरमुकाम जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोम मुस्ताङमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरूलाई सास्ती भएको छ । ०८२ वैशाख २७ गते मेसिन बिग्रिए पछि ल्याबसम्बन्धी काम नहुँदा बिरामीले सास्ती व्यहोर्नु परेको हो ।

अस्पतालमा रहेको ल्याबको मेसिन बिग्रिएपछि ल्याब सम्बन्धी सेवा प्रवाह गर्न नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन्ट डा. समीक्षा कँडेलले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि पोखरा पठाएको र मर्मतको क्रममा रहेको हुँदा सेवा कहिलेदेखि सुचारु हुने भन्ने एकिन गर्न नसकिएको उहाँको भनाइ छ ।

अस्पतालमा रहेको मेसिन बिग्रँदा अस्पतालमा सेवा लिनका लागि आउने बिरामीहरूलाई माथिल्लो अस्पतालमा रिफर गर्नु परेको अस्पतालले जनाएको छ । मेसिन बिग्रिएपछि मर्मतका लागि पोखरा पठाइएको मेसिन मर्मत भएर नआउँदासम्म ब्लड सुगर, युरिया, क्रिटिनाइन, एलएफटी, युरिक एसिड, क्याल्सियम लगायतका मुख्य नौ ओटा ल्याबसम्बन्धी सेवा प्रदान गर्न नसकिएको अस्पतालले जनाएको छ ।

‘अघिल्लो मेसु तेजस नेपाल सरुवा भइसक्नु भएको छ । अहिले हामीले मेसिन मर्मतका लागि फ्लोअप गरिरहेका छौँ । चाँडै मर्मत गरेर पठाउने आश्वासन आएको छ’ – निमित्त मेसु कँडेलले भन्नुभयो । उहाँले अहिले मेसिन मर्मतका लागि गण्डकी प्रदेश आपूर्तिमा रहेको र मर्मतको काम भइरहेको बताउनु भयो । सामाजिक सञ्जाल मार्फत सूचना गरेको हुँदा ल्याब टेष्ट गर्नुपर्ने बिरामीहरू कम आएको हुन सक्ने भए पनि अहिले मेसिन नहुँदा समस्या भने भएको छ ।

अन्य

भिडियो