शङ्कास्पद मृत्यु भएका तीन जना बालबालिकाको परिवारका सदस्यलाई न्याय दिलाउनका लागि पहल गरीदिन अधिकारकर्मी तथा पत्रकारहरूले इन्सेकलाई आग्रह गरेका छन् ।
इन्सेक कोशी प्रदेश कार्यालयले जिल्लाको मानव अधिकारका अवस्थाका बारेमा गरेको अनुगमनका क्रममा अधिकारकर्मी तथा पत्रकारहरूले शङ्कास्पद मृत्यु भएका तीन जना बालबालिकाको परिवारका सदस्यलाई न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गरेका हुन् ।
जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा अनुगमनका लागि पुगेको इन्सेक कोशी प्रदेश कार्यालयको टोलीसमक्ष पत्रकार एवम् अधिकारकर्मी प्रदीपचन्द्र राईले अरूण गाँउपालिका-३ प्याउलीको मर्याङडाँडामा ०७४ असार १० गते तीन जना बालबालिकाको शङ्कास्पद मृत्यु भएको थियो । सोही घटनाका पीडित परिवारलाई न्यायका लागि पहल गरीदिन पत्रकार राईले इन्सेकलाई आग्रह गर्नु भएको हो ।
प्रतिनिधिसभा, ०७४ निर्वाचन सुरक्षा प्रयोजनका लागि बसेको सुरक्षाकर्मीले तीन जना बालबालिकाको हत्या गरेको आशङ्का पीडित परिवारको छ ।
अरूण गाँउपालिका-३ प्याउलीको मर्याङडाँडाका आठ वर्षीय प्रदीप फुयाल, १४ वर्षीया सुष्मा फुयाल र १५ वर्षीय रञ्जित सापकोटा स्थानीय तोरण कार्कीको पोखरीमा ०७४ असार ११ गते मृत अवस्थामा फेला परेका थिए ।
स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा अज्ञात पक्षबाट बालबालिकाको रहस्यमय हत्या भएको घटनामा पीडित परिवारलाई न्यायका लागि इन्सेकको पहल प्रभावकारी हुने भएकाले सो घटनामा पहल गरीदिन नेपाल पत्रकार महासङ्घ, भोजपुर कार्यवहाक अध्यक्ष शारदा तामाङले इन्सेककर्मीलाई आग्रह गर्नु भयो ।
छोराछोरीको ०७४ असार १० गते रहस्यमय मृत्युपछि सम्बन्धित निकायमा गई न्याय माग गर्दा समेत न्याय नपाएको मृतक प्रदीप र सुष्माका बावु चेतनाथ फुयालले बताउनु भयो ।
तीन जना बालबालिकाको रहस्यमय मृत्यु भएको आठ वर्ष बितेपनि नेपाल सरकारले घटनाको ठोस निर्णय नदिँदा आफूहरू अझ बढी पीडित भएको र न्याय पाउने आशा समेत हराएको पीडित पक्षको गुनासो छ ।
घरको कान्छो छोरो रञ्जित गुमाएका रवीन्द्र सापकोटाले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले न्याय दिलाउन पहल गर्ने बताए पनि आफूहरूले न्याय नपाएको बताउनु भयो ।
पीडित परिवारलाई न्याय दिलाउनका लागि गाउँपालिकाको तर्फबाट माथिल्लो निकायमा पटकपटक जानकारी र ध्यानाकर्षण गराएको भएपनि पीडित परिवारलाई न्याय दिलाउन नसकेको अरूण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्र्कीको भनाइ छ ।
तत्कालीन समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले घटनाको छानबिन गरी बालबालिकाको हत्या नभई पानीमा डुबेर मृत्यु भएको जानकारी दिएको पीडित परिवारका रवीन्द्र सापकोटाले बताउनु भयो ।
बालबालिकाको शरीर पानीमा ढाडिएर फुलेको तर पेटमा पानी नभएको, तीनै जनाको हात छातीमा रहेको, खुट्टा खुम्चिएको, चप्पल नफुक्लेको कारण उनीहरूको हत्या भएको पीडित पक्षको आरोप छ ।
इन्सेक कोशी प्रदेश कार्यालयले ०८२ वैशाख २३ गते जिल्लाको मानव अधिकार अवस्थाका बारेमा गरेको अनुगमनका क्रममा बालबालिकाको शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले न्याय नपाएको विषयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनासँग चासो राखेको थियो ।
घटनाको मिसिलको आधारमा ६५ जनाको कल डिटेलसहित सोधपुछ, २-३ ओटा लेखापढी गरिएको अभिलेखमा देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनाले इन्सेकको अनुगमन टोलीलाई बताउनु भयो ।
घटनाको अनुसन्धान गर्न तत्कालीन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्य नेतृत्वको संयुक्त टोली खटिए पनि प्रमाण जुटाउन भने सकेको थिएन ।
शवको परीक्षण जिल्ला अस्पतालमा ०७४ असार १२ गते गरिएको थियो ।
