कटहरिया नगरपालिकामा-३ बडेरवा घर भइ हाल कटहरीया नगरपालिका-५ बस्ने २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको छ । ०८२ वैशाख २८ गते दिउँसोको समयमा साडीको पासोमा पङ्खा झुण्डिएको अवस्थामा सानियाको शव उनको आफ्नै कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
सानीया प्रविनको विवाह २५ वर्षीय अर्मान राय भाटसँग मुस्लिमको परम्परा अनुसार ६ महिना अगाडि भएको थियो । विवाहको भएको ६ महिनामै छोरीको मृत्युको घटना शङ्कास्पद रहेको र दाइजोको कारण उनको हत्या गरिएको मृतकका माइती पक्षको आरोप रहेको छ । थप दाइजोको निहुँमा छोरीलाई ज्वाईले निरन्तर शारीरिक तथा मानसिक याताना दिएकोमा वैशाख २८ गते उनको हत्या गरी आत्महत्या देखाउन खोजिएको माइती पक्षको आरोप रहेको छ । साथै घटनाको छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाहीको माग समेत पीडित पक्षले गरेका छन् ।
घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएकोमा पोष्टमार्टम पश्चात शव सदगतका लागि मृतककी आमा कायमा खातुनले बुझेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले आरोपितविरुद्ध हालसम्म पनि उजरी नआएको तर घटना शङ्कास्पद भएको बताउनु भयो ।