छायानाथ रारा नगरपालिका–७, पिनागाउँका चुनमती शाहीको घरखर्च गिट्टी कुटेर चलिरहेको छ । उहाँको घर मुगु भए पनि जुम्ला चन्दननाथ नगरपालिका–४, मालाभिडको सडकमा गिट्टी कुटेर घरखर्च चलाई रहनुभएको छ । वैशाखको चर्को गर्मीमा चुनमतीको शरीर पसिनाले भिजेको छ । अनुहार धुलाम्मे हुनुका साथै ओठमुख सुकेका छन् । गिट्टी कुटेरै उहाँको हत्केलामा ठेलासमेत बसेका छन् । दायाँ हातमा हथौडा र बायाँमा शाहीको ढुङ्गा छ । च्यातिएका पञ्जा लगाएर उहाँ गिट्टी कुट्ने गर्नुहुन्छ ।

तर भनेको बेला गिट्टी बिक्री हुँदैन । कोही नजिक आउँदा उहाँलाई ‘गिट्टी किन्न आएको हो कि’ भन्ने लाग्छ । तर ग्राहक नभएको थाहा पाएपछि उहाँ निराश बन्नुहुन्छ । गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्नु हुन्छ । दुई वर्षअघि पति गोरखराज शाही जेल पर्नुभयो । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुगाउँमा सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा उहाँ दैलेख जेलमा हुनुहुन्छ ।
पति जेलमा परेपछि ३५ वर्षीय चुनमतीको दैनिकी गिट्टी कुटेर बित्ने गरेको छ । गिट्टी नकुटे उहाँको चुलो बल्दैन । गत भदौदेखि उहाँ जुम्लाको चन्दननाथ नगरपालिका–४, सिङ्गाचौरमा अर्काको घरमा भाडामा बस्नुहुन्छ । गाउँमा हुँदा उहाँलाई केही कमी थिएन । घर थियो । अन्न बिक्री हुन्थ्यो । छोराछोरी स्कुल जान्थे तर पति जेल परेपछि सबै सपना चकनाचुर भएको उहाँले पीडा सुनाउनुभयो । नौ महिनादेखि उहाँ तीन जनाको परिवारसहित जुम्लामा बस्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो – ‘मेरो छोरा लक्की पाँच वर्षको छ । छोरी खुसी ११ वर्षकी छिन् । स्कुल जान पाएका छैनन् । मलाई ढुङ्गा ल्याउन सघाउँछन् । अरुका छोराछोरी अक्षर चिन्छन् । मेरा ढुङ्गा गन्छन् । शरीर कमजोर छ । ज्यान पनि सञ्चो छैन । गिट्टी कुट्न खोज्छु तर सकिँदैन । भाग्य फुटेपछि गिट्टी पनि फुट्दैन ।’
साना छोराछोरीको खर्च जुटाउने जिम्मा उहाँकै काँधमा छ । धेरै गिट्टी कुट्न नसक्दा छाक टार्न चुनमतीलाई मुस्किल छ । जुम्लामा गिट्टी प्रतिट्याक्टर चार हजारमा बिक्री हुन्छ । यसअघि चुनमती होटलमा भाडा माझ्दै आउनु भएको थियो । तर पछिल्लो समय गिट्टी फोटेर जीवन गुजारा गर्दै आउनु भएको छ ।