INSEC Online

📅 २०८३ जेष्ठ २१

पण्डितद्वारा दलितको घरमा धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउन अभियान सुरु 

पाटन नगरपालिका– ८ खोड्पेका ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलितबस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत १ सय भन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गरेका छन् ।

पण्डित पन्तले धार्मिक कुरीति हटाउन दलितबस्तीमा अहिलेसम्म २२ ओटा सप्ताह, ११ ओटा शिवपुराण, ५१ ओटा लघु रुद्राभिषेक, न्वारन, व्रतबन्धलगायतका १ सय भन्दा बढी कर्मकाण्ड गरिसकेको बताउनु भएको छ ।

जिल्लाको प्रसिद्ध वनारसीधामका पुजारी समेत रहनुभएका ज्योतिष पन्तले दशरचन्द नगरपालिका–८ त्रिपुरास्थित पूर्वप्रहरी उपरीक्षक एवं हाल अधिवक्ता रहनुभएका गोविन्दराम परियारको घरको गृहप्रवेशको विधिवत् पूजा गरेका छन् । धार्मिक गुरुबाट नयाँ कामको थालनी (घरको गृहप्रवेश) हुँदा खुसी लागेको परियारले बताउनु भयो ।

पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईंलाई जनैधारण गराइसकेको बताउनु भयो । आचार्य कृष्ण दमाईंले पशुपति कोटीहोमको व्यासबाट प्रवचन समेत दिइसक्नुभएको छ । धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिष पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनु पर्ने बताउनु भयो । कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनु पर्नेमा उहाँको जोड थियो ।

photos20250509baitadhi (2)

उहाँले भन्नुभयो– “सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलितबस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहण समेत गर्दै आइरहेको छु ।”

सन्या पूजा गर्दा अहिले पनि अथर्ववेदको उच्चारण गरेर यो दलितको वेद हो भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा काम रहेको उहाँले बताउनु भयो । अथर्ववेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनेको उहाँको दाबी छ । हामी सबै त्यसको उपभोग गरिरहेका छौँ । तर, त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेकोले यस प्रकारको विभेद हटाउन सचेत नागरिकहरुले प्रयास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलितबस्तीमा कर्मकाण्ड गर्न सुरु गरेपछि बुवाबाजेका पालादेखिका गैरदलित समुदायका पुख्र्यौली यजमान छुटेको बताउनु भयो । सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जालमार्फत आफूमाथि तुच्छ गालिगलौज समेत हुँदै आएको पीडा पण्डित पन्तले सुनाउनु भयो ।

उहाँले भन्नुभयो, “धेरै यजमान छुटेपछि जीविका चलाउन पत्नीले गाई पालेर दुध बेच्ने गरेकी छिन् । पण्डितको पत्नीले दुध बेच्न थालेको भन्दै समाजमा खिसीट्युरी गर्ने गरिएको छ । यद्यपि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन ।”

छोराहरुको पठनपाठन तथा जीविका चलाउन गाई पालेर दुध बेच्दै आएको र बाख्रासमेत पालेको उहाँले बताउनु भयो । पन्तका दुई छोरामध्ये जेठो छोरा भारतको गौरीशङ्कर संस्कृत महाविद्यालय, पिथौरागढबाट शास्त्री प्रथम वर्षमा र कान्छो छोरा कक्षा १२ मा अध्ययन गरिरहेको पण्डित पन्तले बताउनु भयो । ।

अन्य

भिडियो