INSEC Online

📅 २०८३ जेष्ठ २१

आइरनचक्कीको अभाव हुँदा गर्भवतीलाई समस्या

सरकारले गर्भवती र सुत्केरीलाई लक्षित गर्दै निःशुल्क वितरण गर्दै आएको आइरन चक्की जिल्लामा अभाव भएको छ । आइरन चक्की अभाव हुँदा प्रसूति जाँचका लागि आएका गर्भवती महिला निराश भएर घर फर्कने गरेका छन् ।

गर्भवती भएपछि आइरन चक्की सेवन गर्नुपर्छ भन्ने कुरा थाहा भए पनि स्वास्थ्य चौकीमा आइरन चक्की नपाएपछि खान नपाएकोे अमरगढी नगरपालिकाकी स्थानीय बिष्ना बोहोराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नुभयो– ‘गर्भवती भएकीले स्वास्थ्य चौकी आउने गरेकी छु । चेकजाँच गरेपछि स्वास्थ्यकर्मीहरुले नियमित आइरन चक्की खान सुझाव दिन्छन् । स्वास्थ्य चौकीमा जाँदा आइरन चक्की छैन् भन्छन् । रित्तैहात घर फर्किने गरेकी छु ।’

स्वास्थ्य कार्यालयमा मौजाद रहेको २ लाख ट्याब्लेट कैलाली जिल्लामा पठाउँदा डडेल्धुरामा समस्या भएको स्वास्थ्य कार्यालय, डडेल्धुराका प्रमुख केशर साउदले जानकारी दिनु भयो ।

स्वास्थ्य कार्यालय, डडेल्धुराको तथ्याङ्क अनुसार जिल्लामा २ हजार ८ सय ९७ जना गर्भवती छन् । नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ ।

जिल्लामा औषधी अभावको समस्या आउन सक्छ भनेर ६ महिना अगाडी जानकारी गराइएको भए पनि समस्या समाधान हुन नसकेको स्वास्थ्य निर्देशनालय, राजपुरका प्रमुख डाक्टर खगेन्द्र बमले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘हामीले समयमै यसबारे संघीय सरकारलाई जानकारी दिएका हौँ । तर, बजेट अभावका कारण औषधी किन्न सकिएको छैन् । थोरै मात्रामा स्थानीय सरकारलाई खरिद गर्नु भनेका छौँ । ’ प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटपछि मात्रै खरिद गर्ने जानकारी गराएको स्वास्थ्य निर्देशनालय, राजपुरका प्रमुख बमले बताउनु भयो ।

अन्य

भिडियो