सायल गाउँपालिका वडा नम्बर १ छपालिमा निर्माणाधीन प्रसूतिगृह भवन निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा गर्भवती, सुत्केरी तथा अन्य स्वास्थ्य सेवा लिने सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ ।
भवन अभाव हुँदा भूकम्पले छेदबिच्छेद गरी जोखिममा रहेको पुरानो टिनको छाँनामा सबै प्रकारका स्वास्थ्य सेवा प्रवाह गर्नुपरेको छपाली स्वास्थ्य चौकीका प्रमुख पुनम भट्टले जानकारी दिनु भयो ।
प्रसूतिगृहको भवन लामो समयदेखि नबन्दा जिर्ण भवनमा सेवा दिनुपर्ने बाध्यता रहेको र प्रसूति सेवा लिनेहरुले अन्य क्षेत्रमा गएर सेवा लिनुपर्ने बाध्यताले सास्ती खेप्नुपरेको स्वास्थ्य चौकी प्रमुख भट्टको भनाइ छ ।

भवन निर्माण गर्ने जिम्मा पाएको भैरव शक्ति निर्माण सेवाले ०८० साल असार मसान्तमा सम्पन्न गर्ने गरी ०७८ फाल्गुन ८ गते ४० लाख ८० हजार ७ सय १९ रुपियाँ लागतमा भवनको ठेक्का लिएको भए पनि हालसम्म भवन निर्माण नहँुदा सेवाग्रहीले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी प्रेम नेपालीले बताउनु भयो ।
प्रसूतिगृह भवन निर्माणका बिषयमा गाउँपालिकाको कार्यपालिकामा कुरा राख्दा कुनै सुनुवाइ नभएको र भवन निर्माणका क्रममा स्थानीय कामदारहरुले गर्नुभएको श्रमबापतको ११ लाख १६ हजार ५५ रुपियाँ ज्याला नपाएको गुनासो गर्नुभएको सायल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष लालबहादुर रोकायाले बताउनु भयो ।
ेभैरव शक्ति निर्माण सेवाका सञ्चालक ब्यवसायी शिव खड्काले भवन निर्माणका क्रममा खर्चभएको ३२ लाख रुपियाँको बिल गाउँपालिकामा पेश गरेको भए पनि बजेट अभाव भएको भन्दै गाउँपालिकाले २१ लाख रुपियाँ मात्रै भुक्तानी दिएकोले भवन निर्माणको बाँकी काम गर्न नसकेको बताउनु भयो ।

गाउँपालिकाले बिल अनुसारको सम्पूर्ण रकम भुक्तानी गरेको खण्डमा आफूले श्रमिकहरुलाई तिर्नु पर्ने रकम भुक्तानी गर्ने खड्काको भनाइ छ ।
सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले भवन निर्माण कार्यको जिम्मा पाएको भैरव शक्ति निर्माण सेवालाई पटकपटक पत्राचार गर्दा पनि भवन निर्माण कार्य सम्पन्न गर्न नसकेको, धेरै समयसम्म सम्पर्कमा नै नआएको, प्रदेश मार्फत आएको बजेटबाट गर्नु पर्ने काम सम्झौता अनुसार समयमा गर्न नसकेको र गाउँपालिकाले दायित्व लिएर बिनियोजन गरिएको आवश्यक बजेट अनुसार पनि समयमा काम गर्न नसकेको हुँदा आगामी नयाँ आर्थिक वर्षमा गाउँपालिकामार्फत नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताउनु भयो ।