पोखरा महानगरपालिकामा कार्यरत प्रशासन महाशाखाका सातौँ तहका अधिकृत इश्वरीप्रसाद पोखरेलमाथि पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले वैशाख २३ गते हातपात गरेका छन् । वडाध्यक्षले अधिकृतलाई कुटेपछि कर्मचारीले वैशाख २४ गते महानगरमा काम ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । उक्त घटनालगत्तै कर्मचारी सङ्गठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशिल कर्मचारी सङ्गठनहरूको तर्फबाट घोर भर्त्सना गर्दछौँ । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घण्टा भित्र कानुन बमोजिम कार्वाही गर्न ध्यानाकर्षण गर्दछौँ । अन्यथा ०८२ वैशाख २४ गतेदेखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प हुन्छ ।’ कर्मचारीहरूकै आन्दोलनका कारण वैशाख २४ गते पोखरा महानगरपालिकाका वडाहरूमा समेत काम प्रभावित भएको छ ।
स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालले वैशाख २३ गते संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरूकै अग्रसरतामा आन्दोलन भएको हो ।
आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेको पोखरा महानगरपालिकाका कर्मचारी बताउँछन् । पराजुलीले वैशाख २३ गते नै पोखराको सर्वेश्वर मार्गका एक व्यापारीमाथि पनि दुर्व्यवहार गरेका थिए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यसबारेमा वैशाख २५ गते छलफल हुने बताउनु भएको छ । सुवेदीले जिल्ला प्रहरी कार्यालयमा वैशाख २४ गते उजुरी दिनुभएको र पराजुलीलाई गिरफ्तार गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिनुभयो ।