INSEC Online

📅 २०८३ श्रावण ५

अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर लालपुर्जा वितरण

चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरिएको छ ।

विशेष नापी कार्यालय चैनपुरले नक्सानाप सकिएका चैनपुर नगरपालिका–१० का अशक्त ज्येष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरिएको हो ।

द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका चैनपुर नगरपालिका–१० का अशक्त ज्येष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले बताउनु भयो ।

वृद्धवृद्धा तथा अशक्त ज्येष्ठ नागरिक सेवाग्राहीलाई कार्यालयसम्म पुगेर सेवा लिन झन्झटिलो हुने भएकाले घरमै  पुगेर लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालयले जनाएको छ ।

चैनपुर नगरपालिका—१० तोरीबारीका ९४ वर्षीय गणेश बहादुर भण्डारी, हात्तीसुडेका ९० वर्षीय धन बहादुर दर्जी र ८४ वर्षीया माया जिमी, सल्लेरीका ८० वर्षीया वद्धिमाया राई, खराङका ८७ वर्षीय  निर प्रसाद काफ्ले, ७५ वर्षीय भरत शाक्य र ७३ वर्षीया  चन्द्र माया तामाङलाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको बिशेष नापी कार्यालय प्रमुख नेपालले बताउनुभयो ।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा २०५९ साल वैशाख १४ गते आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता श्रेस्ता मोठ  तथा अन्य महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए । ०७६ माघ १३ को मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको हो ।

विशेष नापी कार्यालयले दुई ओटा  नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप नक्सा तथा जग्गा दर्ताको कार्य गरी राखेको छ ।

चैनपुर नगरपालिकाको वडा नम्बर ३,५, ७, ८, ९, १० र ११ मा नापनक्सा सकिएको विशेष नापी कार्यालय चैनपुरले जनाएको छ । चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिका सहित चार स्थानीय तहको ६४ हजार हेक्टर क्षेत्रमा नापी नक्साको काम भइरहेको छ ।

भविन कार्की

अन्य

भिडियो