INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना नगरे सामाजिक बहिष्कार गर्ने चेतावनी

भिमाद नगरपालिका–८ भावर स्थित बालज्योती आधारभुत विद्यालयले विद्यालयको सेवा क्षेत्र भित्रका बालबालिकालाई उक्त विद्यालयमा भर्ना नगरे अभिभावकलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । उक्त विद्यालयले ०८१ बैशाख ९ गते अभिभावकहरुलाई पत्र पठाई उक्त विद्यालयमा बालबालिका भर्ना नगर्ने अभिभावकहरुलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको हो ।

उक्त वडाको त्रिवेणी टोल विकास संस्थाको भेला तथा टोल विकास संस्थाका पदाधिकारी सहित बसेको विद्यालय व्यवस्थापन समितिको गत २०८१ चैत १६ गते बसेको बैठकले अनिबार्य रुपमा उक्त विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको र सोही अनुसार चैत १८ र १९ गते घरदैलो र भर्ना अभियान गर्ने निर्णय भएको विद्यालयका प्रअ पुर्णबहादुर थापाले बताउनु भयो ।

तर विद्यालयको उक्त निर्णयको बावजुद केही अभिभावकहरुले आफ्ना छोराछोरी अन्यत्र भर्ना गरेको हुँदा गत बैशाख ६ गते बसेको सामाजिक संघ संस्था, टोल विकास संस्था र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठकले विद्यालयको निर्णय अटेरी गर्ने परिवारलाई सामाजिक बहिष्कार गर्ने भने सर्वसम्मतिबाट निर्णय भएकाले यस्तो परिस्थिति सिर्जना नगरिदिनु हुन टोलको आदेश अनुसार जानकारी गराईएको विद्यालयका प्रअ पुर्णबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गिरीले संयुक्त रुपमा हस्ताक्षर गरेको पत्रमा जनाईएको छ ।

साथै यस्तो दुःखद परिस्थिति सिर्जना गर्ने परिवारहरुको बालबालिकालाई विद्यालयले गर्नुपर्ने प्राविधिक लगाएतका सहयोगहरू गर्न विद्यालय बाध्य नहुने समेत विद्यालयले अविभाकहरुलाई जानकारी गराएको छ ।

विद्यालयका प्रअ थापाले टोल विकास संस्था र अन्य संघ संस्थाको सहमतीमा उक्त निर्णय गरिएको भन्दै उक्त निर्णयले सामुदायिक विद्यालयमा पढाउनुपर्ने भावना बढ्ने बताउनु भयो ।

अन्य

भिडियो