INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक आन्दोलनका कारण कोशी प्रदेशका ७१ हजार बढी विद्यार्थीको परीक्षा प्रभावित

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित समयमा नहुँदा कोशी प्रदेशका ७१ हजार ९ सय बढी विद्यार्थीको परीक्षा प्रभावित भएको छ ।

विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशका अनुसार परीक्षामा नियमिततर्फ ५३ हजार ९ सय ५० र ग्रेडतर्फ १८ हजार ७ जना विद्यार्थीको परीक्षा प्रभावित भएको छ ।

राष्ट्रिय परीक्षा वोर्डले ०८२ वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण देशभर प्रभावित भएको हो ।

विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कार्यालयका निर्देशक दामोदर चापागाईंले आगामी वैशाख २१ गतेदेखि हुने परीक्षाका लागि कार्यालयले हेर्ने प्रदेशका १० ओटा जिल्लाका २ सय १७ वटा केन्द्रका लागि केन्द्राध्यक्षसमेत तोकिसकेको  बताउनु भयो ।

कोशी प्रदेशभित्र मोरङमा सबैभन्दा बढी ६२ ओटा परीक्षा केन्द्र तोकिएको छ । झापामा ४९, सुनसरीमा ३८ ओटा परीक्षा केन्द्र कायम गरिएको छ । मोरङमा रहेका ६२ ओटा केन्द्रमा पनि परीक्षाको तयारी अन्तिम चरणमा रहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका इकाई प्रमुख जीवन गड्तौलाले बताउनु भयो ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षाको तयारी पुरा गरेपनि निर्धारित समयमा शिक्षक आन्दोलनका कारण परीक्षा नहुँदा परीक्षार्थी प्रभावित भएका छन् ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम फिर्ता नलिदा कक्षा १२ का विद्यार्थी प्रभावित भएका छन् । कक्षा १२ को परीक्षा स्थगित भएपछि जिल्लाका २ हजार बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लामा ७ केन्द्रमा नियमित तर्फ १ हजार ४ सय ४५ र ग्रेडवृद्धि तर्फ ८ सय ९५ सहित २ हजार ३ सय ४० विद्यार्थी प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गोमालमान भण्डारीले बताउनु भयो । जिल्लामा कक्षा १२ को परीक्षाका लागि हिमालय माध्यमिक विद्यालय खाँदबारी,महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ,अरुण भ्याली बोर्डिङ स्कूल खाँदबारी,शारदा माधयमिक विद्यालय चैनपुर, सरस्वती माध्यमिक विद्यालय चैनपुर र रामेश्वर माध्यमिक विद्यालय धर्मदेवी नगरपालिका सहित सात ओटा केन्द्र तोकिएको थियो ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार शिक्षकको आन्दोलनका कारण वैशाख ११ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षा प्रभावित भएको छ । शिक्षकको आन्दोलनका कारण जिल्लाका २ हजार ९ सय ९२ जना विद्यार्थीको कक्षा १२ को परीक्षा प्रभावित भएको छ । नियमिततर्फ जम्मा १ हजार ८ सय ६१ र ग्रेडवृद्धि १ हजार १ सय ३१ जना परीक्षार्थीको परीक्षा प्रभावित भएको हो । जिल्लामा ११ ओटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाको सम्पूर्ण काम शिक्षकहरुले नै गर्नुपर्ने र मुख्य साँचो नै विद्यालयको केन्द्राध्यक्षसँग भएको हुँदा परिक्षा संचालन गर्न नसक्ने शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रखुम मोहन राईले बताउनु भयो । प्रश्नपत्र ईमेलबाट आउने हुँदा परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडी प्र्रिन्ट गरेर निकाल्नु शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले जनाएको छ । त्यो काम केन्द्रध्यक्षहरुले मात्रै गर्न सक्ने भएकाले परिक्षा सञ्चालन हुन नसकेको हो ।

अन्य

भिडियो