लामो समयदेखिको शिक्षक अन्दोलनका कारण जुम्लाका ३५ हजार बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । ०८१ चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण पूर्ण रूपमा विद्यालयमा पठनपाठन ठप्प भएको हो ।
काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन जनाउँदा पठनपाठन बन्द भएको हो । शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको चन्दननाथ नगरपालिका–१० का सचेत युवा लोकेन्द्रराज गिरीले बताउनु भयो । उहाँका अनुसार शिक्षकको आन्दोलनका कारणले विद्यार्थीमा ठुलो असर परेको छ । उहाँले भन्नुभयो – ‘एकातिरको आन्दोलन हेर्दा ठिकै लाग्छ तर, अर्कोतिर हेर्दा विद्यार्थीको भविष्यमा नकारात्मक असर परेको छ ।’ आन्दोलनलाई मथ्थर बनाउन शिक्षा ऐनको जारी गर्नु पर्ने गिरीको भनाइ छ ।
तीन सातादेखिको लामो शिक्षक आन्दोलनका लागि काठमाडौँ केन्द्रित भएपछि पठनपाठनमा असर परेको विद्यार्थीको गुनासो छ । तीन सातादेखि विद्यालयमा शिक्षक सहभागी नभइ काठमाडौँ केन्द्रित भएकाले विद्यार्थीले शिक्षा पाउनबाट वञ्चित भएका छन् । शिक्षकले आन्दोलन गर्दा जिल्लाभर पठनपाठन ठप्प भएको नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताउनु भयो । उहाँका अनुसार सरकारले समयमै परिषद्ले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको बताएको हो ।
शिक्षक आन्दोलनका कारण जिल्लाका १ सय २१ ओटा आधारभूत र ५२ माध्यमिक विद्यालयका ३५ हजार ४ सय ८७ विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शेरबहादुर रोकायाले बताउनु भयो ।