पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकममा निर्माणाधीन अस्पताल सम्झौताको दोश्रो पटक थपिएको समयसीमामा पनि निर्माण सम्पन्न हुन सकेन ।
नेपाल सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप थालिएको ताकम म्याग्दीको निर्माणाधीन अस्पताल भवनको हालसम्म ६५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले दिएको जानकारी अनुसार ६ करोड ७१ लाख ५७ हजार २ सय ६९ रुपियाँ लागत स्टमेट गरी टेण्डर आह्वान गरिएको थियो । भवन निर्माणका लागि बागलुङको ढोरपाटन नगरपालिका बुर्तिवाङको बिएम–आइएस–एसी जेभी नामक निर्माण कम्पनिले ४ करोड ८८ लाख ७२ हजार १ सय २३ रुपियाँमा २०७८ वैशाख १२ गते सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम २०८० को जेठ भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने भएतापनि हालसम्म पनि निर्माण सम्पन्न नभएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र आर्थिक प्रगति करिब ५० प्रतिशत भएको देखिन्छ । गाउँपालिकाले निर्माण कम्पनिलाई २ करोड ३४ लाख ५९ हजार ७ सय ८२ रुपियाँ भुक्तानी गरिसकेको छ ।
गाउँपालिकाका सब इन्जिनियर लोकेन्द्रबहादुर रावलले अस्पताल भवन निर्माणका लागि भएको सम्झौता बमोजिमको म्याद सकिएपछि दुई पटक एकएक वर्ष म्याद थप गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, म्याद थपको काम भएको छ तर निर्माणले गति लिन नसक्दा अझै पनि थपिएको समयमा सम्पन्न हुने नहुने अन्यौल नै छ । पहिलो पटक म्याद सकिएपछि २०८० जेठ २५ गते थपिएको थियो भने त्यसपछि पुनः थप गरेको म्याद २०८२ असार २५ गते सकिने उहाँको भनाइ छ ।
आकस्मिक, अन्तरंग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण हुनेछ । ताकम अस्पताल निर्माण भएपछि धवलागिरी गाउँपालिकाका साथै बागलुङ जिल्लाको पश्चिम भेकका बासिन्दाले समेत सेवा लिन सक्ने छन् ।
