INSEC Online

📅 २०८३ जेष्ठ २१

वीरेन्द्रनगरमा खानेपानीको सङ्कट बढ्दै !

सुक्खायाम लागेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी सङ्कट बढेको छ । वीरेन्द्रनगर उपत्यकामा खानेपानीको व्यवस्थापन सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले गर्दै आएको छ । तर, खडेरीको सिजनमा चार दिनमा मात्रै पानी वितरण गर्न सकिने भन्दै खानेपानी संस्थाले सूचना जारी गरिसकेको छ । यही चैत २० गते संस्थाले लामो समयको सुख्खा खडेरीका कारण पानीका स्रोतहरूमा ह्रास आएको भन्दै चार दिन अर्थात् ९६ घण्टापछि मात्रै खानेपानी वितरण गर्न सकिने भन्दै खानेपानीको तालिका सार्वजनिक गरेको छ ।

Photo24042025Surkhet।

राष्ट्रिय जनगणना ०७८ को तथ्याङ्क अनुसार वीरेन्द्रनगर नगरपालिकाको कुल जनसङ्ख्या १ लाख ५३ हजार ८ सय ६३ छ । ३८ हजार ३७७ घरधुरी छन् । प्रदेश राजधानी भएसँगै प्रदेशका १० जिल्लाबाट वीरेन्द्रनगरमा बसाइँसराइको क्रम ह्वात्तै बढेको छ । त्यही कारण पनि यहाँको जनसङ्ख्या ३ लाखको हाराहारीमा छ । वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न दैनिक ३ सय ८८ लिटर प्रति सेकेन्ड पानी आवश्यक पर्छ । वर्षाको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट पाँच र खोर्के खोलाबाट १० लिटर प्रति सेकेन्ड गरी जम्मा १ सय ५८ लिटर प्रति सेकेण्ड मात्र पानी उपलब्ध हुँदै आएको थियो ।

तर, खडेरी परेसँगै झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, इत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट पाँच र खोर्के खोलाबाट पाँच लिटर प्रति सेकेण्ड गरी जम्मा ९० लिटर प्रति सेकेण्ड मात्रै पानी आपूर्ति भएकोले खानेपानी केही दिनको फरकमा वितरण गर्नुपरेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले बताउनु भयो । ‘वीरेन्द्रनगरमा बढ्दो शहरीकरणका कारणले हरेक वर्ष खानेपानीको अभाव हुने गरेको छ । सुक्खा सिजनका कारण खानेपानीका मुहान सुकेका छन् । वैकल्पिक उपाय नभएसम्म यो समस्या हरेक वर्ष आइरहन्छ । संस्थाले हाल २० हजार उपभोक्तालाई खानेपानी वितरण गरिरहेको छ’ – उहाँले भन्नुभयो । पुरानो डिजाइनमा संरचना बनाउँदा माग अनुसारको सन्तुलन हुन नसकेको खानेपानी संस्थाका इन्जिनियर बलराम तिवारीले बताउनु भयो । अहिलेको डिजाइनिङ भनेको २०६२ देखि ०७७ सम्म मात्रै हो ।

उपत्यकामा बढ्दो शहरीकरणसँगै माग अनुसार आपूर्तिमा सन्तुलन कायम हुन सकेको छैन । २०५९ सालमा वीरेन्द्रनगरमा प्रयोगमा आएका खानेपानीका स्रोतहरूको प्राविधिक अध्ययन अनुसार चार खोलाबाट १ सय ४ लिटर प्रतिसेकेण्ड खानेपानीको डिजाइन थियो । जसले ५२ हजार जनालाई पुग्थ्यो’ – उहाँले भन्नुभयो । एक दशक अघिबाटै वीरेन्द्रनगरमा खानेपानीको अभाव हुँदै आएको छ । त्यसको विकल्प भेरी पम्पिङ आयोजना निर्माणाधीन अवस्थामा छ । ०८१ भदौ १३ मा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र निर्माण व्यवसायीबीच निर्माण सम्झौता भएको थियो । उक्त सम्झौतामा आयोजना इकाइ कार्यालयका प्रमुख सञ्जीवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिञ्ज्याङ टर्मस इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबीच हस्ताक्षर भएको थियो । तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपियाँको लागतमा सम्झौता भइ काम अघि बढेको थियो ।

ग्लोबल टेन्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको थियो । सोही अनुसार आयोजना कार्यान्वयन भइरहेको छ । निर्माणको काम दुई चरणमा गरेर तीन वर्षमा सक्ने लक्ष्य कम्पनीले लिएको छ । पहिलो चरणमा मुहानदेखि इन्टेकसम्मको काम निर्माण कम्पनीले गर्नेछ । नदी छेउमा इन्टेक निर्माण, मोटर जडानका लागि संरचना निर्माण र त्यहाँसम्मको पाइपलाई विस्तार, ६.८ किलोमिटर पाइपलाइन विस्तार, अमृत डाँडामा ३ हजार घनमिटरका तीन वटा इन्टेक निर्माण लगायतका काम गर्नुपर्नेछ । दोस्रो चरणमा वितरण लाइन विस्तारका लागि ठेक्का खोलिनेछ । पाइपलाइन मार्फत ५ सय ६० लिटर प्रतिसेकेण्ड पानी अमृत डाँडासम्म पुग्ने निर्माण कम्पनीले जनाएको छ । अमृतडाँडामा निर्माण गरिएका इन्टेकमा जम्मा गरिएको पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

अन्य

भिडियो