बैजनाथ गाउँपालिका–५, जीगाउँ पश्चिम टोलमा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । जीगाउँ पश्चिम टोलमा १५ घरधुरीमा गत वर्षदेखि खानेपानीको समस्या हुँदा स्थानीयले सास्ती भोग्नु परेको हो ।

जीगाउँ पश्चिम टोलमा चैत महिनादेखि धारामा पानी नआएको कारण स्थानीय नजिकैको नहरमा नुहाउन जाने गरेका छन् भने उक्त बस्तीमा धारामा पानी सुक्दै जाँदा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयले जनाएका छन् । आफूहरूले लामो समयदेखि नहरबाट नुहाने गरेको कारण शरीरमा चिलाउने समस्या भएको स्थानीय खड्गबहादुर पुनले बताउनु भयो । अहिले १५ हजार रुपियाँको पाइप खरिद गरी प्रत्येक घरले नजिकैको पशुपालन फारममा लागेको उहाँले उल्लेख गर्नुभयो । समरसेबल बोरिङबाट पाइप लगाएर ३ सय ५० रुपियाँ प्रतिमहिनाका दरले किनेर ल्याएर पानी खाने गरेको स्थानीय पुनले बताउनु भयो ।
चैत महिना लागेसँगै पानी कम हुँदा बस्तीमा खानेपानीको समस्या भएको बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूह संस्थाका अध्यक्ष सोनु सिंह विकले बताउनु भयो । वर्षाको समयमा पानी हुने भए पनि गर्मीमा पानीका मुहान सुक्दै जाँदा सबैले आवश्यकता अनुसार पानी उपभोग गर्न कठिन हुने गरेको उहाँको भनाइ छ ।
खानेपानीको समस्या झेल्दै आएका जीगाउँ पश्चिम टोलका करिब १५ घर परिवारका लागि खानेपानीको लागि गएको वर्षमा दुई पटक गाउँपालिकामा सिफारिस गरिएको बैजनाथ गाउँपालिका–५ का वडाध्यक्ष देवबहादुर रावतले बताउनु भयो । खानेपानीको समस्याको समाधान गर्न आफूहरू लागि परेको वडाध्यक्ष रावतले बताउनु भयो ।
