गुल्मीमा चैत महिनामा हुरिबतास र आगलागी ८९ घटना भएका छन् । हुरिबतासका ४९ र आगलागीका ४९ घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । हुरिबतासबाट ३३ ओटा घर र आठ ओटा गोठमा क्षति पुर्याएको छ भने आगलागीमा परेर १३ पशुचौपायको मृत्यु र पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीका कारण तीन घर र १५ गोठ जलेर नष्ट भएका छन् । हुरिबतास र आगलागीबाट ८९ लाख ६२ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर सारुले जानकारी दिनुभयो । डिएसपी सारुका अनुसार धुर्कोट गाउँपालिका–३, हाडहाडे बर्दबास बस्ने कृष्ण विष्ट र देवकला महतको घरको छाना उडाएको छ । त्यस्तै धुर्कोट गाउँपालिका–४ का पूर्णप्रसाद पाध्याको घर, अरुण गैरेको होटल, धुर्कोट गाउँपालिका–५ का इश्वर सुनार, गिर बहादुर पुन मगर, गोरे बहादुर सार्की, तुल्सा भण्डारी, तेज बहादुर घर्ति, फर्सुराम पचभैया मगरको घरको छाना हावाले उडाएर क्षति गरको सारुले जानकारी दिनुभयो । त्यस्तै मालिका गाउँपालिका–४, अर्खाबाङ्गका सुरेश अर्याल, शिवलाल अर्याल, जमुना लम्साल, हिरालाल अर्याल, अरुण बुढा मगर, खिम बहादुर घर्ति, थमने कामी र सिता अर्याल घरको छाना हावाले उडाएको छ । मालिका गाउँपालिका–२ का अगुना रविन्द्र विश्वकर्माका अनुसार रिमा घर्ति, कविराम विक र फुलमाया विकको घरको छाना उडाएको छ ।
त्यस्तै अर्खाबाङ्ग माविको कम्प्युटर ल्याब, पुस्तकाले र शौचालयको छाना हावाले उडाएको छ । जसको कारण ठूलो क्षति भएको छ । विद्यालयमा क्षति हुँदा विद्यार्थीको पठनपाठनमा समेत प्रभावित भएको छ । सोही वडाकै अर्खाबाङ्ग कृषि तथा महिला सहकारीको भवन पनि हावाले उडाएर क्षति गरेको छ । कालिगण्डकी गाउँपालिका–३ का रुक बहादुर श्रीस, सन्तकली राना र लालबिर रानाको घरको छाना उडाएको प्रहरीले जनाएको छ । हावाले मध्यरातमा घरका छाना उडाएपछि पीडित परिवार बिचल्लीमा परेका छन् । घटनाका दिन हावाहुरि र चट्याङले ज्यान जोगाउन समेत मुस्किल परेको सुनाउँदै अहिलेसम्म राहतको नाममा कसैले केही सहयोग नगरेको पीडित मालिका गाउँपालिका–४ का सुरेश अर्यालले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले स्थानीय तहहरू मार्फत पीडित व्यक्तिहरूको आधिकारिक विवरण र क्षतिको अवस्था माग गरेकाले प्राप्त भएपछि राहतको लागि तीनै तहकार सरकारलाई आग्रह गर्ने बताउनु भयो । उहाँले आफूहरूसँग छुट्टै स्रोत नभएकाले स्थानीय तहहरूलाई नै आग्रह गर्ने अवस्था रहेको बताउनु भयो ।
आगलागीले मालिका गाउँपालिका–४ का डिल्लीराज अर्यालको गोठसहितको फर्म चैत २३ गते जलेपछि ७ सय कुखुरा नष्ट भएका छन् । व्यावसायिक कुखुरापालनको योजना आगलागीमा खरानी भएपछि परिवार स्तब्ध बनेको छ । प्रहरी मुचुल्का बाहेक अहिलेसम्म राज्य स्तरबाट कुनै राहत र सहयोग उपलब्ध नभएको अर्यालले गुनासो गर्नुभयो । त्यस्तै इस्मा गाउँपालिका–२ की बिमला दर्जीको घर विद्युत सर्ट भएर आगलागी हुँदा आँखा अगाडि घर नै खरानी बनेको उहाँको भनाइ छ । शरीरमा भएका लुगा बाहेक केही नजोगिएपछि परिवार छिमेकका कष्टपूर्ण जीवन बिताइरहेका छन् ।