शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावितसँगै बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण पाल्पामा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको हो ।
जिल्लामा रहेका संस्थागत विद्यालयहरूमा वैशाख ३ गतेबाटै पठनपाठन सुरु भइसकेको छ भने सामुदायिक विद्यालयहरू भने आन्दोलनका कारण बन्द अवस्थामा छ । सामुदायिक विद्यालयहरूमा अहिले धमाधम हुनुपर्ने भर्ना अभियान हुन सकेको छैन । जिल्लाका कतिपय सामुदायिक विद्यालयहरुले विज्ञप्ति जारी गरी पठन पाठन तथा भर्ना अभियान स्थगित गरिएको जनाएका छन् ।
सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलन केन्द्रित हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् ।
तानसेन स्थित देववाणी साधारण तथा संस्कृत माविका प्राधानाध्याक कृष्णबहादुर थापाले आफ्नो विद्यालयका सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिनुभयो । थापाले सबै शिक्षक आन्दोलनमा काठमाडौँ गएको उहाँले उल्लेख गर्नुभयो । सरकारले माग सम्बोधन नगरेसम्म शैक्षिक कार्यक्रम अगाडि नबढ्ने र जिल्लाका कुनै पनि सामुदायिक विद्यालय नखोल्ने उहाँले बताउनु भयो ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताउनु भयो । पाल्पामा रहेका शिक्षक सम्बद्ध सङ्घसङ्गठनका प्रमुखहरूले हस्ताक्षर गरी प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई आह्वान गरेका छन् ।