INSEC Online

📅 २०८३ जेष्ठ २१

खलङ्गामा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती !

जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । मल्लरानी गाउँपालिका—४, खलङ्गामा ४ सय घरधुरीमा खानेपानीको समस्या रहँदै आएको छ ।

सदुरमुकाम खलङ्गामा ६ ओटा मुहानबाट खानेपानीको आपुर्ति हुँदै आएको र खडेरीको समयमा पानीको मुहान सुकेकोले अहिले पानीको समस्या देखिएको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बसन्तलाल शाक्यले बताउनु भयो । ‘प्रायजसो पानीको अभाव नै हुन्छ । खडेरीले गर्दा अझ बढी समस्या भएको छ । दैनिक ३ लाख लिटर जती पानी खपत हुने खलङ्गामा हाल पानीको असुविधा रहेको छ’ – उहाँले भन्नुभयो ।

वर्षाको समयमा पानीको प्रयाप्त सुविधान नभएको ठाउँमा गर्मी समयमा स्थानीयले दैनिक एक गाग्री पानी पनि मुस्किल्ले पाउने गरेको मल्लरानी गाउँपालिका—४ का ५३ वर्षीय इमानसिह भारतीले बताउनु भयो । अन्य कपडा धुने, सरसफाई गर्ने लगाएको प्रयोजनका लागि ६ किलोमटिर टाढा झिमरुक नदीबाट ट्याङ्करबाट ढुवानी गर्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो । सरकारले सदरमुकाम बासीलाई प्रयाप्त खानेपानीको सुविधान पुर्‍याउन नसक्नु दुःखको कुरा भएको स्थानीय नागरिकहरूको गुनासो रहेको छ ।

मल्लरानी गाउँपालिकाले झिमरुक लिफ्ट खानेपानी आयोजना अघि बढाएको र आयोजना अन्तर्गत ट्याङ्की निर्माण, पाइपलाइन निर्माण लगायतका संरचना निर्माणको काम सम्पन्न भइसकेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खडकाले बताउनु भयो । उहाँले मोटर जडान पनि गरिएको र विद्युतको ट्रान्सफर्मर जडानको काम बाँकी रहेकाले झिमरुक लिफ्ट खानेपानी सञ्चालन हुने र सो लिफ्ट सञ्चालन भएपछि सदरमुकामको खानेपानी समस्या हल हुने बताउनु भयो ।

सदरमुकामा खानेपानीको समस्या लामो समयदेखि रहँदै आएको र यसलाई समाधान गर्न गाउँपालिका लागि परेको अध्यक्ष खडकाले बताउनु भयो । सदरमुकामा रहेका सरकारी कार्यालयहरूमा पनि गर्मीको समयमा प्रत्येक वर्ष खानेपानीको अभाव हुने गरेको कार्यालयहरूले जनाएका छन् ।

अन्य

भिडियो