गुल्मीमा हुरिबतासले घरदेखि विद्यालयका छाना उडाएपछि जनजीवन प्रभावित भएको छ । चैत २७ गते रातीको हावाहुरिले ठूलो क्षति गरेको छ ।
हावाले मालिका गाउँपालिका–४ को अर्खाबाङ्ग मावि र शौचालयको छाना उडाएको छ । त्यस्तै अर्खाबाङ्ग महिला सहकारीको भवन पनि हावाले उडाएर क्षति गरेको वडाध्यक्ष नारायणप्रसाद अर्यालले बताउनु भयो । विद्यालयमा पढाइ नभए पनि बार्षिक नतिजा प्रकाशन र भर्नाको तयारीका कामहरू भइरहेका थिए ।
हावाले छाना उडाएपछि वर्षाले विद्यालयमा महत्त्वपूर्ण सामग्री समेत रुझेर क्षति भएको छ । अर्यालका अनुसार वडाभित्र धेरै घर र सार्वजनिक संरचनामा क्षति भएको सूचना आएकाले सङ्कलनको काम भइरहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गंगाबहादुर सारुका अनुसार धुर्कोट गाउँपालिका–३, हाडहाडे बर्दबास बस्ने कृष्ण बिष्ट र देवकला महतको घरको छाना उडाएको छ ।
त्यस्तै धुर्कोट गाउँपालिका–४ का पूर्ण प्रसाल पोख्रेलको घर हावाले क्षति गरेहको सारुले जानकारी दिनुभयो । त्यस्तै मालिका गाउँपालिका–४, अर्खाबाङ्गमा पनि सुरेश अर्याल र शिवलाल अर्यालको घरको छाना हावाले उडाएको छ । मध्य रातिमा हावाले घरका छानाहरू उडाएपछि जागराम बस्नु परेको पीडित सुरेश अर्यालले बताउनु भयो ।