नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा लागेको आगोले यसक्षेत्रको वायुमण्डल धुँवाले ढाकेको छ । जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुँवाको बादल लागेको छ । यहाँ रहेका राष्ट्रिय वन तथा सामुदायिक वनमा लागेको आगोले वायुमण्डल धुँवाले ढाकेको हो ।
चैतको मध्यबाट जिल्लाको वन क्षेत्रमा डढेलो सुरु भएको थियो । यस बिचमा जिल्लामा करिब ५० स्थानमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिशिर लम्सालले बताउनु भयो । जिल्लामा हालसम्म १ हजार २ सय हेक्टर क्षेत्रफलमा वन डढेलो लागेको उहाँले बताउनु भयो ।
जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्या समेत देखिएको छ ।
धुँवाका कारण आँखा पोल्ने, स्वास प्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताउनु भयो । वायुमण्डल धुवाँले ढाकेका कारण यसले तत्कालिन सहित दीर्घकालिन रुपमा स्वास्थ्यमा असर पुग्ने उहाँले बताउनु भयो ।