नेपालको कानुनी मान्यता अनुसार २० वर्ष उमेर नपुगेसम्म विवाह गर्न नपाइने भएतापनि हिमाली जिल्ला म्याग्दीमा चालु आर्थिक वर्षमा झण्डै १ सय ५० जना २० वर्ष भन्दा कम उमेरमै बच्चाको आमा भएका छन् ।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १ सय ३७ जना युवतीहरु २० वर्ष भन्दा कम उमेरमै आमा भएका हुन् । प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीका अनुसार अन्नपुर्ण गाउँपालिकामा एक जना, रघुगंगा गाउँपालिकामा पाँच जना, मंगला गाउँपालिकामा सात जना, धवलागिरी गाउँपालिकामा १२ जना, मालिका गाउँपालिकामा १८ जना र बेनी नगरपालिकामा ९४ जना २० वर्ष उमेर नपुग्दै सुत्केरी भएका हुन् ।
चालु आर्थिक वर्षमा म्याग्दी जिल्ला भित्र कुल ५ सय ४६ जना सुत्केरी भएकोमा ६ जना भने घरमै सुत्केरी भएका छन् । नेपाल सरकारले शुन्य होमडेलीभरी नीति अङ्गिकार गरेको भए पनि म्याग्दीको रघुगंगा गाउँपालिकामा चार जना, मंगला र धवलागिरी गाउँपालिकामा एक–एक जना घरमै सुत्केरी भएका हुन् ।
मुना स्वास्थ्यचौकीकी अनमी जुनेली भण्डारीका अनुसार धवलागिरी गाउँपालिका–३ मुना सोलवाङमा एक जना घरमै सुत्केरी हुनुभएको हो । उहाँले भन्नुभयो गर्भवती भएपछि गर्नु पर्ने सबै परीक्षणहरु धवलागिरी गाउँपालिका–७ ताकम स्थित स्वास्थ्यचौकीमा गरेको भए पनि सुत्केरी हुने समयमा भने घरमै सुत्केरी हुँदा शुन्य होमडेलीभरीको लक्ष्य पूरा गर्न कठिन भयो ।