हरिपुर नगरपालिका-२ की २१ वर्षीया बविता कुमारी महरालाई उनका परिवारजनले थप दाइजोको निहुँमा कुटपिट गरेको आरोपमा पीडितले जिल्ला जिल्ला प्रहरी कार्यालय, मलंगवामा ०८१ चैत २२ गते उजुरी दिनुभएको छ ।
पीडित महिलालाई सासु ४७ वर्षीय मोहनी देवी महरा, नन्द १५ वर्षीया विभा कुमारी र पति २२ वर्षीय रामकलेश महराले चैत ११ गते थप दाइजोको निहुँमा गालिगलौज गर्नुका साथै कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ ।
दाइजोमा एक तोला सुन नदिएको भन्दै आरोपितहरूले कुटपिट गरी घरेलु हिंसा गरेको पीडितका बुबा जयराम महरा चमारले बताउनु भयाे ।
पीडितको उपचार चैत ११ गते हरिपुर स्थित स्वास्थ्य चौकीमा भयो र थप उपचार चैत १२ गतेदेखि १४ गतेसम्म जिल्ला अस्पताल मलंगवामा भएको जयराम महरा चमारले बताउनु भयो ।
उपचारपश्चात पीडित माइती घर मलंगवा नगरपालिका-४ शिवसागर चौक नजिक बस्दै आइरहेको उहाँले बताउनु भयो ।
पीडित र आरोपित रामकलेश महरा बीच ०८० फागुन १६ गते विवाह भएको थियो । विवाहमा नगद ५० हजार रुपियाँ र फर्निचरका सामग्री दिए तापनि थप दाइजो बापत एक तोला सुन नदिएको भन्दै आरोपितहरूले छोरीलाई कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, मलंगवाका एसपी रबिन्द्र बहादुर श्रेष्ठले घटनाको अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने बताउनु भयो ।