जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । मौसम परिवर्तनसँगै मौसमी फ्लु र दमका बिरामीहरू बढेपछि अस्पताल र स्वास्थ्य संस्थामा आउने सङ्ख्या वृद्धि भएको हो ।
पाँच दिनदेखि दमको ब्यथाले च्यापेपछि अस्पतालमा उपचार गर्न आउनु परेको सिमकोट गाउँपालिका–७ की ५५ वर्षीय चाखुरी विकले बताउनु भयो । उहाँका अनुसार बिरामी भएर जिल्ला अस्पतालमा आउँदा सामान्य औषधी समेत नपाइने र उक्त औषधी निजि मेडिकलबाट किन्नु पर्ने बाध्यता रहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बाध्यता रहेको विकले बताउनु भयो ।
हाल अस्पतालमा उहाँ लगाएत अरु दश जना बिरामीहरु उपचाररत रहेका छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूमध्य एक जना हात भाँचिएको र अरु सबै दम, निमोनिया र मौसमी फ्लुका बिरामीहरू रहेका छन् । दुई सातादेखि अस्पताल आउने बिरामीको सङ्ख्या बढीरहेको स्वास्थ्य सेवा कार्यालयकी प्रमुख प्रतिक्षा भारतीले बताउनु भयो । उहँले यतिबेला विशेष गरी दम, मौसमी रुघाखोकी, निमोनिया, ढाड, घाँटी दुख्ने बिरामीहरू बढी आइरहेको बताउनु भयो ।
१५ शैयाको अस्पतालमा दैनिक बेडहरू भरिभराउ हुने गरेका छन् । आइतबार र बुधबार १ सय जनाभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने र अन्य दिनमा ४० देखि ५० जना बिरामी आएर उपचार गराइरहेका छन् । अस्पतालले अलि जटिल बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्ने र सामान्यलाई उपचार पनि औषधी दिएर घर फिर्ता पठाउने गरिएको छ ।
बिरामीहरू उपचारका लागि आउनेको सङ्ख्या बढेपछि चिकीत्सकहरूलाई बहिरङ्ग सेवामा उपचार गर्न पनि भ्याइनभ्याइ हुने गरेको हो । चिसौ मौसम र धुँवाधुलोको कारण पनि मौसमी फ्लुका बिरामीहरू बढी रहेका कारण सबैले सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ । यो मौसम नै यस्तै भएको कारण व्यक्तिगत रूपमा सावधानी अपनाउनु आवश्यक देखिएको हो ।