हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलकी ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडितका देवर २२ वर्षीय राहुल दासलाई प्रहरीले ०८१ चैत १३ गते गिरफ्तार गरेको छ ।
जेठी भाउजु गुडियाको १३ गते दिउँसो आरोपितले घरको दोस्रो तलामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपित राहुलले माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते तुल्याएपछि हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
आरोपितका तीन दाजुभाइ मध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा पाँच महिनाअघि कतार गएका थिए । तीन सन्तानकी आमा गुडियाको हत्या गरी माइलो दाजु रूपेशलाई आरोपित राहुलले खुकुरी प्रहार गरेको अनुसन्धानबाट देखिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
दास परिवार हेटौँडामा तरकारी तथा फलफूलको थोक बजारमा फलफूलको व्यवसाय गर्दै आएको छ ।
शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको छ ।