INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी आयोजना मर्मत नहुँदा ९० घरपरिवारमा खानेपानीको समस्या

सुनापति गाउँपालिका–५ खनियापानीमा गत असोज महिनामा आएको बाढी पहिरोले क्षति पुर्याएको खानेपानी आयोजना मर्मत नहुँदा ९० घरपरिवारलाई खानेपानीको समस्या भएको छ ।

स्थानीय रामकुमार खड्काका अनुसार असोज ११ र १२ गतेको वर्षाले लाम्पाते लिफ्ट खानेपानी आयोजनाको मुहान नै बगाएको छ । खानेपानीको मुहान बगाउँदा ९० घरपरिवार भन्दा बढी खानेपानी सुविधाबाट वञ्चित भएका छन् । जसले गर्दा सिंगो बस्तीमा नै खानेपानीको अभाव भएको छ । सुक्खा मौसम सुरुभएसँगै साना खानेपानीको मुहान सुकेपछि स्थानीयलाई पानीको हाहाकार भएको खड्काले बताउनु भयो ।

त्यस्तै, सुनापति गाउँपालिका– १ गुन्सीमा पनि बाढी पहिरोले बगाएको खानेपानी योजना मर्मत नहुँदा स्थानीयलाई पानीको संकट परेको छ । स्थानीय मानबहादुर क्षेत्रीका अनुसार तल्लो माझी बस्ती खहरे खोलाले लिफ्ट खानेपानीमा क्षति पुर्या‌एपछि स्थानीय खानेपानीको सुविधाबाट बञ्चित भएका छन् । सो खानेपानी योजना मर्मतको लागि वडा कार्यालय र गाउँपालिकामा अनुरोध गरिएको भए पनि अहिलेसम्म मर्मत हुन नसकेको स्थानीयको गुनासो छ ।

गएको भदौ र असोज महिनामा आएको बाढी पहिरोले रामेछापको सुनापति, दोरम्बा, खाँडादेवी लगायतका गाउँपालिकामा धेरै खानेपानी योजनामा क्षति पु¥याएको छ । ती मध्ये अधिकांश खानेपानी आयोजनाको मर्मत हुन नसक्दा स्थानीयले खानेपानीको समस्या झेलिरहेका छन् ।

अन्य

भिडियो