ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माण गर्न सुरु गरिएको केवलकार निर्माण खारेजीको माग गर्दै आएको ‘नो केवलकार’ समूहले अर्को वार्ता समिति गठन गरेको छ ।
नो केवलकार समूहले सरकारसँग उच्चस्तरीय वार्ता गर्न खगेन्द्र फेम्बो संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो ।
नो केवलकार पक्षले ०८१ चैत ७ गते एक विज्ञप्ति जारी गरी सरकारी वार्ता टोली र नो केवलकार पक्षको वार्ता सहजीकरण टोलीबिच ०८१ चैत ४ गते भएको सहमतिअनुसार अर्को वार्ता टोली गठन गरेको उल्लेख गरिएको छ ।
केवलकार विवादका विषयमा समाधान खोज्न उच्चस्तरीय वार्ता गर्ने सहमति भएको र सो अनुसार नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले अर्को वार्ता टोली गठन गरेको जनाएको छ ।
केवलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक रहेका फेम्बो संयोजक बन्नुभएको वार्ता समिति सदस्यमा श्रीप्रसाद लिङ्खिम, सरस्वता सिङ्घक सरु, धनराज लिम्बू र सन्तोष मेहता रहनु भएको छ । संयोजक फेम्बो, लिङ्खिम र सिङ्घक मुक्कुमलुङ ताङ्सेःप चुम्भोतर्फ तथा लिम्बू र मेहता अन्तरदलको प्रतिनिधित्व हुने गरी वार्ता समिति गठन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पाथीभरा क्षेत्रमा केवलकार निर्माणको प्रक्रिया अघि बढेदेखि नै विरोध र आन्दोलन सुरु भएको हो । नो केवलकार समूहले केवलकार खारेज गर्नुपर्ने, केवलकार निर्माणस्थल पाथीभराको काफ्लेपाटीमा स्थापना गरिएको सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प फिर्ता गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनलाई निरन्तरता दिएको छ ।
सरकारद्वारा गठित गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता समिति र नो केवलकार पक्षबिच विभिन्न चरणमा वार्ता भएपनि निश्कर्षमा पुग्न सकेको छैन् ।