मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ ।
०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको ज्यान गएको स्थानीय तथा परिवारजनले आरोप लगाएका छन् ।
परिवार तथा स्थानीयबासीले उहाँको शल्यक्रिया प्रक्रियामा डाक्टरले लापरबाही गर्दा महिलाको ज्यान गएको बताउनुभएको छ ।
मालिकार्जुन गाउँपालिका स्वास्थ्य कार्यालय, पस्तीमा आयोजित परिवार नियोजन शिविरमा सहभागी भएकी धामीको शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । अप्रेसनको क्रममा पेटको आन्द्रा काटिएका कारण महिलाको ज्यान गएको स्थानीयको आरोप छ ।
स्वास्थ्य कार्यालय, दार्चुलाको आयोजना तथा परिवार नियोजन संघ, बैतडी र युएनएफपिए प्रोजेक्टको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।
महिलाको आन्द्रा काटिएपछि उहाँलाई तत्काल मालिकार्जु आधारभूत अस्पताल, पस्तिमा लगिएको थियो । त्यहाँ उचित उपचार सम्भव नभएपछि तीन दिनपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लामो समय उपचार भयो ।
झण्डै दुई हप्ता आईसीयूमा राखेर उपचार गरिए पनि सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको थियो । तर, उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा ०८१ चैत ६ गते सिताको मृत्युभएको स्थानीय लक्ष्मणसिह धामीले बताउनु भयो ।
शल्यक्रियामा संग्लन डाक्टर एमबहादुर बस्नेत नेतृत्वको टोलीले गम्भीर लापरबाही गरेको पीडितको आरोप छ । स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख बीरेन्द्र भट्टले जिल्लाभरि ७२ जनाको शल्यक्रिया गरिएकोमा सीताको केही प्राविधिक समस्या भएको बताउनु भयो ।
दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य बिक्रमसिह धामीले ग्रामीण भेगमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्दा दक्ष डाक्टरको सुनिश्चितता गर्नु पर्ने र घटनामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ ।
महिलाको उपचारको क्रममा मृत्युु भएपछि स्वास्थ्य कार्यालय, दार्चुलाले ६ लाख रूपियाँ र परिवार नियोजन संघ, बैतडीले ४ लाख रूपियाँ पीडित परिवारलाई दिने सहमति भएको स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख भट्टले बताउनु भयो ।
परिवार नियोजन संघ, बैतडीले ४ लाख दिई सकेको र स्वास्थ्य कार्यालय, दार्चुलाले ३ / ३ लाख रुपियाँका दरले दुई किस्तामा रकम बुझाउने सहमति भएको समेत उहाँले बताउनु भयो ।
खासगरी सुदूरपश्चिमका पहाडी जिल्लामा यस्ता सुत्केरी तथा परिवार नियोजन सम्बन्धिका समस्याले अकालमै ज्यान जाने गरेको छ ।