जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर व्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ०८१ चैत ३ गते ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूलाई उपचारको लागि प्रदेश अस्पताल दमौली ल्याइ थप उपचार भइरहेको छ । उनीहरूलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी इन्स्पेक्टर राजु अधिकारीले बताउनुभयो ।
बिरामी हुनेमा व्यास नपा- ६ बस्ने ६३ वर्षीय गुरुबहादुर पुलामी, गुरुबहादुरको छोरा ३१ वर्षीय सुरेन्द्र पुलामी, म्याग्दे गाउँपालिका-६ सर्बलाङ बस्ने ३० वर्षीय नारायण मगर, उनकी पत्नी २३ वर्षीया पबित्रा मगर, गुरुबहादुरको ज्वाई ४२ वर्षीय लितबहादुर थापा, सोही ठाउँका ३६ वर्षिया केशव पुलामी, ६५ वर्षीया सीता पुलामी, चार वर्षीय सुमित पुलामी, सोही ठाउँका ६६ वर्षीय चक्रबहादुर पुलामी र १८ वर्षीया आरती पुलामी रहेका छन् ।
घाइते मध्ये ३० वर्षीय नारायण मगरको उपचारको उपचारको क्रममा चैत ४ गते मृत्यु भयो ।