पाथीभरा मुकुम्लुङ्ग क्षेत्रमा निर्माणाधीन केवलकारको विवादलाई सम्वादबाट समाधान गर्नका लागि आन्दोलनरत पक्ष वार्तामा बस्न तयार भएको छ ।
मुम्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले ०८२ चैत २ गते विज्ञप्ति जारी गर्दै वार्तामा बस्न तयार भएको हो ।
मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजको सवाल ताप्लेजुङ जिल्लाको मात्र सरोकारको विषय नभई मुक्कुमलुङलाई सांस्कृतिक तथा आध्यात्मिक आस्थाको स्थलको रूपमा मान्ने नेपाल सहित विश्वभरिका मानिसहरूको सरोकारको विषय भएको उल्लेख गर्दै सरस्वता सिंघकको संयोजकत्वमा दश सदस्यीय वार्ता सहजीकरण टोली बनाइ वार्ता बस्न तयार भएको आन्दोलनरत पक्षले जनाएको छ ।
दश सदस्यीय टोलीमा सिंघकसहित कुमार लिम्बू, सूर्य विक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याख्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जबेगु, आलोक माबोहाङ र अर्जुन जुम्नेली राई छन् ।
केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र सम्वादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि ०८१ माघ २२ गते गृह मन्त्रालयले वार्ता टोली गठन गरेको थियो । ०८१ फागुन ९ गते, फागुन १२ गते र चैत १ गते गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।

