कोशी गाउँपालिका-८ का २१ वर्षीय पत्रकार देवराज यादव आफूमाथि कुटपिट भएको आरोप लगाउनु भएको छ ।
कोशी गाउँपालिका-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक हरिनगर गाउँपालिका-५ बसन्तपुरका ३२ वर्षीय सुबोध यादवले ०८१ चैत १ गते राति अस्पतालमा भिडियो किन खिचेको भन्दै कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।
पीडित पत्रकारले कुटपिटपछि जिल्ला प्रशासन कार्यालयमा चैत २ गते निवेदन दिनु भएको छ । ज्यान मार्ने धम्की आएकाले सुरक्षाका लागि प्रशासनमा निवेदन दिएको पीडित पत्रकार यादवले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले घटनाका विषयमा जानकारी आएको र घटनाको वास्तविक बुझ्ने र दोषी भए कारबाही प्रक्रिया अघि बढाउने बताउनु भएको छ ।
अस्पतालको भिडियो किन खिचिस् भन्दै मादक पदार्थ सेवन गरेका अस्पताल सञ्चालक सुबोध यादवले कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।
अस्पतालको भिडियो नखिचेको तर, फेसबुक लाइभमा कुराकानी गरिरहेको अवस्थामा आरोपितले कुटपिट गरेको पीडित पत्रकारको आरोप छ ।
कुटपिटबाट टाउकोमा चोट लागेका पीडित पत्रकारको भोक्राहा नर्सिङ गाउँपालिका-४ स्थित सप्तकोसी न्यूरो अस्पतालमा उपचार गरिएको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणा पत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।
