INSEC Online

📅 २०८३ जेष्ठ २१

कम उमेरमै सुत्केरी हुने क्रम रोकिएन् !

जिल्लामा कम उमेरमै विवाह हुने र गरिने कारणले गर्दा कम उमेरमा सुत्केरी हुने सङ्ख्यामा कमी आउन सकेको छैन् । पछिल्लो तथ्याङ्क अनुसार २० वर्ष भन्दा कम उमेरका युवतीहरूमा सुत्केरी हुने क्रम वृद्धि भइरहेको पाइएको छ । जसका कारण मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर पुर्या‍एको छ ।

स्वास्थ्य कार्यालय, डडेल्धुराका अनुसार चालु आर्थिक वर्षको साउन महिनदेखि माघ महिनासम्म १ हजार २ सय ६४ जना महिलाले सुत्केरी भएकोमा १ सय ५४ जना महिलाको उमेर २० वर्ष भन्दा कम रहेको छ । जुन कुल सङ्ख्याको करिब १२ प्रतिशत हो ।

कम उमेरमा गर्भवती  हुनेमा अमरगढी नगरपालिकामा ८३ जना, परशुराम नगरपालिकामा ३५ जना, अजयमेरु गाउँपालिकाम नौ जना, आलिताल गाउँपालिका ११ जना, गन्यापधुरा गाउँपालिका सात जना, नवदुर्गा गाउँपालिका सत जना र भागेश्वर गाउँपालिका दुई जना रहेको स्वास्थ्य कार्यालय, डडेल्धुराका सूचना अधिकारी जनक चन्दले बताउनु भयो ।

उहाँले भन्नुभयो, “कम उमेरमै सुत्केरी हुने प्रचलन रोक्न सरकारी तथा अन्य सरोकारवाला निकायहरूले अझ बढी पहल गर्नु पर्ने देखिएको छ । किशोरीहरूको स्वास्थ्य जोखिम न्यूनीकरण गर्न तत्काल ठोस् योजना आवश्यक छ ।’

महिलाहरु कम उमेरमा सुत्केरी हुने क्रम नरोकेका कारण मातृशिशु मृत्युदर घटाउन चुनौती बनिरहेको स्वास्थ्य कार्यालय, डडेल्धुराका प्रमुख केशर साउदले बताउनु भयो ।

डडेल्धुरा अस्पताल, डडेल्धुराका निमित्त प्रमुख नरेन्द्र खनालले २० वर्ष अघि नै गर्भधारण गर्दा आमा र शिशु दुवैको जीवनमा गम्भीर जोखिम उत्पन्न हुने बताउनु भयो ।

कम उमेरमा शरीर पूर्ण रूपमा विकसित नहुनेभएकोले प्रसूति जटिलता, रक्तस्राव, समय भन्दाअघि जन्म, शिशु मृत्यु दर जस्ता समस्याहरू निम्तिन सक्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो