INSEC Online

📅 २०८३ जेष्ठ २१

गिट्टी कुटेर जीवनयापन गर्दै कौशिलादेवि र दिलसरा !

दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउँदै आउनु भएको छ ।

Photo10032025Mugu

उहाँहरू दुवै जना विपन्न परिवार हुनुहुन्छ । घरमा राेजगारी पनि नभएकाले जीविकाेपार्जनका लागि गिट्टी कुट्ने गर्दै आएका छन् । घरकाे खेतबारीमा उत्पादन हुने अन्नवालीले वर्षभरी खाना पुग्दैन । मुस्किलले ६ महिना पुगे पनि अरु ६ महिना यस्तै ज्याला मजदुरी, गिट्टी कुटेर जीविकाेपार्जन गर्नु पर्ने बाध्यता रहेको छ ।

गिट्टी बिक्री गरेर राम्रो आम्दानी पनि गर्न उहाँहरू सफल हुनुभएको छ । गिट्टी बिक्रीबाट वार्षिक ५० हजारदेखि १ लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको दिलसरा नेपाली बताउनु भयो । कौशिलादेवी र दिलसरा सदरमुकाम गमगढी जाने लोकमार्गको गमदुवाको छेउमै दिनभर गिट्टी कुट्नमै व्यस्त हुनुहुन्छ । गिट्टी कुटेर घरखर्च चलाउनुका साथै छोराछोरीको पढाइ खर्चसमेत यसैबाट धानेको उहाँहरूको भनाइ छ ।

कौशिलादेवीले भन्नुभयो – ‘गिट्टी कुट्न थालेको तीन महिना जति भयो । मलगायत मेरो छिमेकी दिदीबहिनीले सँगै गिट्टी कुट्छौँ । हामी दुवै जना मिलेर चार दिनमा एक ट्याक्टर गिट्टी बनाउँछौँ । एक ट्याक्टर गिट्टीबापत् हामीलाई सात हजार रुपियाँ दिन्छन् । अनि दुवैले ३ हजार ५ सय रुपियाँका दरले बाँड्छौँ ।’ चार छोराछोरीको विद्यालयको खर्च पनि गिट्टी कुटेकै रुपियाँले चलाउने गरेको उहाँले बताउनु भयो । ‘गिट्टी कुटेको रुपियाँले नुन, तेल, चामल किन्छौँ । चार जना छोराछोरी छन्, उनीहरूको स्कुलखर्च पनि यसैबाट धानेका छौँ’ – उहाँले भन्नुभयो ।

कामको समयमा खेती गर्ने र फुर्सदिलो समयमा गिट्टी कुटेर पनि घरखर्च धान्दै आएको कौशीलादेवीको भनाइ छ । उहाँले भन्नुभयो – ‘यो काम पनि त्यति धेरै पाइँदैन, गाह्रो नै हुन्छ । यो कामबाट सन्तुष्ट नभएर पनि के गर्ने र काम गरेर सबैले खानु नै पर्छ ।’ गिट्टी कुटेको उचित पारिश्रमिक भने नपाएको उहाँले गुनासो गर्नुभयो ।

अन्य

भिडियो