कोशी कटानका कारण श्रीलङ्का टापुमा रहेका ६ सय घरधुरी जोखिमा परेका छन् । वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुमा सप्तकोशी नदीले कटान गरेका कारण ६ सय घरधुरी जोखिममा परेका हुन् ।
श्रीलङ्का टापुको चिलैया, गरैया क्षेत्रमा कोशी नदीले जमिन कटान गर्न थालेपछि बस्ती जोखिममा परेको हो । टापु संरक्षणका लागि ०८२ मङ्सिरमा निर्माण गरिएका १८ ओटा तारजालीसहितका ढुङ्गाको स्परसमेत नदीको कटानमा परेर डुब्न थालेका छन् ।
कोशी प्रदेशमा ०८३ असार ५ गतेदेखि भित्रिएको मनसुन क्रमश सक्रिय हुँदै जाँदा वर्षा बढी भएको र कोशी नदीमा पानीको वहाव बढेसँग कटान सुरू भएको बराहक्षेत्र नगरपालिका–६ का स्थानीय बद्री राईले बताउनु भयो ।
कोशी नदीले बलौटे माटो बढी बगाउने भएकाले कटान झन तीव्र हुँदा चिलैया क्षेत्रमा लगाइएका ढुङ्गासहितको तारजालीसमेत नदीमा डुब्दै गएको छ ।
स्थानीय सन्तोष चन्द्रवंशीका अनुसार चिलैया र गरैया क्षेत्रमा दैनिक जसो कटान भइरहेको छ । टापुमा बसोबास गर्नेका लागि हरेक वर्ष वर्षायामका चार महिना निकै त्रासपूर्ण हुने गरेको चन्द्रवंशीको भनाइ छ ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कटानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरी श्रीलङ्का टापुमा भइरहेको कटानबारे तत्काल आवश्यक संरक्षणका लागि कोशी परियोजनालाई जानकारी गराइ सकिएको बताउनु भयो । उहाँले गत हिउँदमा बर्खायामको कटान नियन्त्रण गर्ने उद्देश्यले चिलैया र गरैया क्षेत्रमा १८ ओटा तारजालीसहितका ढुङ्गा भरिएका स्पर निर्माण गरिएको थियो । अहिले तीमध्ये केही स्पर नदीको कटानमा परेर डुब्न थालेका छन् ।
सप्तकोशीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापु पाँच दशकअघि नदीले धार परिवर्तन गरेपछि बनेको भूभाग हो । हाल सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिकाको २ र ३ मा पर्ने टापुमा तीन हजारभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको छ । अधिकांश स्थानीय कृषि र पशुपालनमा निर्भर छन् ।