चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् ।
नेपाली काङ्ग्रेस दाङले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई दिउँसो ४ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिरहेकै बेला करिब ५ सय मिटर पर अज्ञात समूहले बम विष्फोट गराएको थियो ।
विष्फोटमा परी चुनावी सभाको सुरक्षार्थ खटिएका तुलसीपुर उपमनपा-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरी, दाङ ववई गाउँपालिका-६ का ३६ वर्षीय नेपबहादुर खत्री, सोही ठाउँकी १८ वर्षीया सुनीता चौधरी, शान्तिनगर गाउँपालिका-२ का ५० वर्षीय हिमलाल रामजाली, तुलसीपुर उपमनपा-७ का २२ वर्षीय जेनी डिसी, तुलसीपुर उपमनपा- १७ का ४० वर्षीय वोमराज सुनार, तुलसीपुर उपमनपा-१२ का १९ वर्षीय विनोद चौधरी (ख), ढोरचौर गाउपालिका-२ सल्यानका ४५ वर्षीय नरभूमि बुढाथोकी र बागचौर नपा- २ सल्यानका ४० वर्षीया देवी डिसी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेमध्ये म्यादी प्रहरी विनोद चौधरी र सर्वसाधारण जेनी डिसी, देवी डिसी र नेपबहादुर खत्रीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
अन्य पाँच जनामध्ये चार जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते विनोद चौधरी (ख) लाई डिस्चार्ज गरिएको प्रहरीले जनायो ।
बम कसले पड्काएको भन्ने थाहा नभएको र खोजी भइरहेको प्रहरीले जनायो । काङ्ग्रेसको चुनावी सभा भइरहेको अरनिको मैदानको करिब ५ सय मिटर दक्षिण विरेन्द्र चोक नजिकै विष्फोट भएको प्रहरीले जनाएको छ ।