१९ वर्षीया रोजी लामाको जन्म दर्ता र नागरिकता बनाउनका लागि इन्सेक कोशी प्रदेश कार्यालयले फागुन २३ गते हिंसा पीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले फागुन २३ गते पीडितलाई आर्थिक सहयोग वापत १० हजार रूपियाँ हस्तान्तरण गर्नु भयो । हिंसा र अन्यायमा परेकाहरूको न्यायमा पहुँच बढाउन इन्सेकले सहयोग गरेको प्रदेश संयोजक पोखरेलले बताउनु भयो ।

झापाको बिर्तामोड नगरपालिका-१२ का ५२ वर्षीय सुकविर लामाले छोरी रोजीको जन्मदर्ता र नागरिकता नबनाइ दिएपछि आवश्यक कानुनी प्रकृया पुरा गरी नागरिकता र जन्मदर्ता प्राप्त गर्न आवश्यक सहयोगका लागि लामाकी पत्नी बमकुमारी शाहले इन्सेक कोशी प्रदेश कार्यालयमा फागुन १९ गते निवेदन दिनु भएको थियो ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ घर भई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१२ मा डेरा गरी बस्ने शाह र लामाको २०६० फागुन १६ गते नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा विवाह भएको थियो । उनीहरुबाट २०६१ फागुन १६ गते छोरीको जन्म भएपछि लामा सम्पर्कविहीन भएका थिए । बर्दिया गुलरिया नगरपालिकामा बसेर अध्ययन गर्दै आएकी रोजी लामाको जन्म दर्ता र नागरिकता नभएका कारण अध्ययन, छात्रवृति, रोजगारीलगायतको सेवाबाट वञ्चित भइरहेकी थिइन् ।
पटक-पटक सम्पर्क गरी पत्ता लगाउन खोज्दा पनि सुकविर लामा फेला नपरेपछि पीडितले इन्सेक लुम्बिनी प्रदेश कार्यालयको सहयोगमा बाँके जिल्ला अदालतबाट कानुनी उपचार खोज्नु भएको थियो । अदालतले ०८० पुस २३ गते पीडित शाह लामाको पत्नी रहेको र निजहरुबाट छोरी रोजी लामाको जन्म भएको तथ्य स्थापित गर्दै पीडितहरुले सुकविरबाट अंश पाउने समेत ठहर गरेको छ । उक्त फैसला समेत कार्यान्वयन गर्न सुकविरले आलटाल गरेपछि झापा आउनु भएकी पीडितको नाता प्रमाणित र सरजमिन मुचुल्का गरेर जिल्ला प्रशासन कार्यालयले फागुन २३ गते रोजीको नागरिकता बनाइ दिएको छ । उक्त कार्यका लागि इन्सेक झापा प्रतिनिधि नरेश खातीले सहयोग गरेको शाहले बताउनु भयो ।