स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति र प्रहरीबीच नयाँ बानेश्वरमा ०८१ फागुन १८ गते झडप भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिका सदस्य खुसीराम चौधरीले इन्सेकलाई जानकारी दिनु भयो।
झडपमा ५४ वर्षीय बाल कृष्ण चौधरी, ४१ वर्षीय लालबहदुर चौधरी, २८ वर्षीय प्रविण दहित थारू, ३२ वर्षीय शेर बहादुर चौधरी, ४३ वर्षीय भरत लाल चौधरी, ४० वर्षीय धनीराम चौधरी, ३५ वर्षीय पीमा चौधरी, ३५ वर्षीया बिमली चौधरी, ३६ वर्षीया सुनिता चौधरी, ३८ वर्षीया बिन्दु चौधरी, ३७ वर्षीया राम कुमारी चौधरी र ३९ वर्षीय रमेश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको सदस्य चौधरीले बताउनु भयो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते हुनु भएको छ, उहाँको सिभिल अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताउनु भयो।
यसैगरी प्रहरीको लाठी प्रहारबाट गिरफ्तार परेका र नपरेका अधिकांश साथीहरुलाई हातखुट्टा, टाउकोमा चोटपटक लागेको सदस्य चौधरीले बताउनु भयो । गिरफ्तार परेका साथीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको चौधरीले जानकारी दिनु भयो । गिरफ्तार सबैलाई फागनु १९ गते बिहान रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
परम्परागत पोशाकमा सजिएका सङ्घर्ष समितिका सहभागीहरूले लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान पुन: सङ्घर्ष समिति विरोधमा उत्रिएका हुन् । उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्।