INSEC Online

📅 २०८३ जेष्ठ २२

राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानसँग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानले आचारसंहिता उल्लङ्घन गरेकोमा २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

मौन अवधि शुरू भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र आफ्नो पार्टीको निर्वाचन चिन्ह राखी प्रचारप्रसार गरेको र उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत देखिएका कारण महामन्त्री प्रधानसँग मङ्सिर १० गते आयोगले २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

‘यहाँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनु पर्ने हो/होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४।८।१० को निर्यण अनुसार अनुरोध छ ।’-आयोगले महामन्त्री प्रधानलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

यसैगरी आयोगले रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका प्रधानाध्यापक डा. गीता खरेललाई २४ घण्टाभित्रमा आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

सामाजिक सञ्जाल यूट्यूबमार्फत काठमाडौँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा खरेलले मत मागी निर्वाचन आचारसंहिता उल्लङ्न गरेको विषयमा आयोगबाट स्पष्टीकरण माग गरिएको थियो ।

आयोगले सोधेको स्पष्टीकरणको जबाफ खरेलले पठाइसकेको भए पनि त्यस सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएकाले आयोगकै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

अन्य

भिडियो