चार वर्षदेखि निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालि सम्पर्क विहिन हुन पुगेपछि निर्धारित समयमा भवन निर्माण नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही समस्यामा परेका छन् ।
कालिका गाउँपालिका–१ को राम्चे स्वास्थ्यचौकी कम्पनीले निर्माण थालेकोमा अलपत्र रहेकोले सेवा प्रवाह हुनै सकेको छैन । सम्झौता गरेर काम थालेपनि दुई वर्षदेखि काम अधुरो छाडेर सम्पर्कमा नआएको स्थानीय बताउँछन् ।
स्वास्थ्य चौकीको भवन अधुरो छाडेपछि सेवा प्रबाहमा समयमा स्वास्थ्य संस्था भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा परेका छन् । राम्चे बजारमा रहेको भाडाको कोठाबाट सेवा प्रबाह गर्न असहज रहेको छ ।
‘जिम्मेवार निर्माण व्यवसायी २ वर्षदेखि सम्पर्कमा छैनन् । गतवर्ष २÷४ दिन काम गरेको देखिन्थ्यो । गतवर्ष म्याद थपे पनि अझै काम सम्पन्न भएन ।’ स्वास्थ्यकर्मी रामप्रसाद ढकालले भन्नुभयो ।

०७७ सालमा बनाउन सुहरू गरिएको भवन निर्माण नहुँदा प्रसूति सेवा तथा अन्य स्वास्थ्य जाँच सेवा पाउन निकै समस्या परेको स्थानीय बताउछन् । पटक पटक प्रमुख जिल्ला अधिकारी समक्ष समेत गुनासो गरेको कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङले बताउनुभयो । ‘धेरै ठाउँमा काम थालेकाले सबैतिर काम अलपत्र छ । ठेकेदार सम्पर्कमा नआएको एक वर्ष बित्यो ।’–वडाध्यक्ष तामाङले भन्नुभयो ।
चारवर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्यचौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ, शौचालय निर्माणलगायतको काम छाडेर हिँडेका निर्माण व्यवसायी फर्केनन् ।
समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेलगायतका प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाहहरूको माग छ ।
स्वास्थ्यचौकी भवन अलपत्र भएकोले बिरामीलाई उपचार सेवा दिन निकै कठिनाइ भएको राम्चे स्वास्थ्यचौकी अहेव रामप्रसाद ढकालले बताउनुभयो । स्वास्थ्य चौकी भवन निर्माणका लागि मापदण्ड अनुसार निर्माण नभएको समेत गुनासो रहेको छ ।