INSEC Online

📅 २०८३ जेष्ठ २१

उच्च स्तरीय छानबिन समिति गठनको माग

Photo 202500223 Siraha (1)

१७ वर्षीया बालिकालाई नवराजपुर गाउँपालिका-१ का १९ वर्षीय रुपेश मण्डल, १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामबिनय मण्डलले अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको र बस्तीपुर माध्यमिक विद्यालयमा सरस्वती पुजाको दिन दलित विद्यार्थीलाई पुजामा बस्न नदिई जातीय छुवाछुत तथा विभेद गरेको विषयमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै ०८१ फागुन ८ गते इन्सेक लगायतका संघ संस्थाहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहामा  ज्ञापन पत्र बुझाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लव, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, दलित संरक्षण अभियान मञ्च, दलित विकास मञ्च लगायतका संघ संस्थाहरूले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार यादव र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मेश यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सामूहिक बलात्कार घटनामा संलग्न तीन जना युवा र पञ्चायती गरी उक्त घटनालाई मेलमिलाप गराउनेहरुलाई गिरफ्तार गरी कारबाही गर्नु पर्ने र पीडित परिवारलाई निरन्तर धम्की, डर त्रास देखाउँदै आइरहेकोले तत्काल भयरहित वातावरणमा गाउँमै बस्न सक्ने सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग ज्ञापन-पत्र मार्फत माग गरेको छ ।

त्यसैगरी, लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत प्रथम  विद्यार्थीले सरस्वती माताको पुजामा बस्ने परम्परा रहेको छ । तर, विद्यालयमा भएको सरस्वती पुजामा काक्षा नौ मा अध्यनरत प्रथम विद्यार्थी कृष्णकुमार रामलाई दलित भएकै कारण वर्षौदेखि चलिआएको परम्परा मिचि सोही कक्षमा अध्यनरत फरक जातीको विद्यार्थींलाई पुजामा बसाई जातीय छुवाछुत तथा विभेद गरेको ज्ञापन-पत्रमा उल्लेख छ ।

दुई ओटा घटनाहरूमा मानवअधिकारको गम्भिर उल्लङ्घन भएको पाइएको छ । दलित भएकै कारण विद्यालयको वर्षौदेखिको परम्परालाई कुल्चिएर पुजामा बस्न नदिने शिक्षकहरू खुलेआम घुमिरहेको र दलित किशोरीलाई बलात्कार गरी हत्या गरेको घटनाका आरोपितहरू पनि गिरफ्तार हुन नसक्नुले सिरहाको सुरक्षा अवस्था कमजोर भएको देखिन्छ । सबै सरोकारवालाहरूले यी घटनाका दोषीहरूलाई संरक्षण नगरी कानुनी दायरामा ल्याउन इन्सेक लगायतका संघ संस्थाहरूले ज्ञापन-पत्र मार्फत ध्यानाकर्षण गराएको मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले बताउनु भयो ।

अन्य

भिडियो