INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण, शरीर बन्धक र बलात्कार गरी हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको आरोपमा नवराजपुर गाउँपालिका-१ का १९ वर्षीय रुपेश मण्डल, १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामविनय मण्डलविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा ०८१ फागुन ८ गते उजुरी दिएका छन् । घटनापश्चात वडा सदस्य नथुनी साह, स्थानीय रामपुकार मण्डल, रामकृपाल मण्डल, रामपृत साह र विन्देश्वर साहलगायतले गाउँमै पञ्चायत बसी  आराेपित पक्षले पीडित पक्षलाई १ लाख ४० हजार रुपियाँ दिने गरी मेलमिलाप गराएका थिए । मेलमिलाप गराएको भन्दै पञ्चायती बसेका व्यक्तिहरु विरुद्ध पनि पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी  दिएका हुन् ।

आरोपितहरूले ०८१ माघ २७ गते राती शौचालय गएकी छोरीलाई अपहरण गरी शरीर बन्धक बनाई सामूहिक बलात्कार गरेको र घटना बारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको बालिकाकी आमाले बताउनु भयाे ।  पति रोजगारीको सिलसिलामा भारतको पन्जाबमा रहेको र घरमा आफू एक्लै रहेकोले घटनाको विषयमा गाउँकै केही भद्र भलादमीहरूलाई जानकारी गराउँदा उनीहरूले गाउँमै पञ्चायत बसी छलफल गरी मेलमिलाप गराएको बालिकाकी आमाले बताउनु भयो । माघ ३० गते बेलुकी पतिको फोन आएको खबर आएपछि छोरीलाई घरमा एक्लै छोडेर फोन गर्न बजार गएकी थिइन् । बजारबाट फर्केर घरमा आउँदा घरको ढोका बन्द थियो । एक छिनसम्म छोरीलाई बोलाएँ । तर, कोठाभित्रबाट छोरीले कुनै प्रतिक्रिया नजनाएपछि घरभित्र पसेर हेर्दा छोरी झुण्डिएको अवस्थामा फेला परिन् । छोरीले आत्महत्या नगरी आरोपितहरूले हत्या गरी झुण्ड्याएको पीडित परिवारकाे आराेप छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले हामीले सूचना पाउँदा आत्महत्या गरेको पाएकोले सोही अनुसार प्रहरी परिचालन गरेको बताउनु भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा दुरुत्साहन देखिएकोले फागुन १ गते आत्महत्या दुरुत्साहन शीर्षकमा उजुरी दर्ता गरेको डिएसपी सोतीले बताउनु भयो । अनुसन्धानपछि हत्या र बलात्कार साथै घटनालाई ढाक्छोप गर्न गाउँमा गाउँकै केही मानिसहरू पञ्चायत बसी छलफल गरी पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप १ लाख ४० हजार रुपियाँ दिनु पर्ने भनी मिलापत्र पनि गराउन खोजेको खुल्न आएको छ। घटनाका मुख्य आरोपितहरू सहित पञ्चायत बस्नेहरू उपर पनि  अपहरण, शरीर बन्धक, बलात्कार गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मेलमिमलाप समेत गर्न खोजेको अन्तर्गतको कसुरमा पुरक उजुरी लिएर अनुसन्धान सुरु गरेको  डिएसपी साेतीले बताउनु भयाे ।

घटनाका सबै आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी सोतीले बताउनु भयो । घटना शङ्कास्पद देखिएकोले शवको पोष्टमार्टम धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन ३ गते गरिएको डिएसपी सोतीले बताउनु भयो ।

अन्य

भिडियो