INSEC Online

📅 २०८३ जेष्ठ २१

सन् २०२४ मा गण्डकी प्रदेशमा ५ सय ४ जना पीडित

सन् २०२४ मा गण्डकी प्रदेशमा अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ५ सय ४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेक गण्डकी प्रदेश कार्यालयले फागुन ७ गते पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सन् २०२४ मा महिला तथा बालबालिकामाथि हुने हिंसा अझै गम्भीर चुनौतीका रूपमा रहेको बताइएको छ ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले सन् २०२४ मा गण्डकी प्रदेशमा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ४ सय २९ महिला र ७५ पुरुष गरी ५ सय ४ जना पीडित भएको बताउनु भयो । घरेलु हिंसामा २ सय १७ जना महिला, बलात्कारका घटनामा ४५ महिला, साइबर अपराधमा दुई जना महिला पीडित भएका छन् । त्यसैगरी यस वर्ष बलात्कारपछि एक जना महिलाको हत्या भयो ।

सन् २०२३ मा गण्डकी प्रदेशमा राज्य पक्षबाट पाँच जना पुरुष र अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष गरी ६ सय १६ जना पीडित भएका थिए ।

सन् २०२४ मा बाल अधिकार उल्लङ्घनका घटनामा भने वृद्धि भएको छ । खकुरेलका अनुसार यो वर्ष बाल अधिकार उलङ्घनमा १ सय ३१ जना पीडित भएका छन् ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी घटनाहरू कास्की जिल्लाको र सबैभन्दा कम घटना मनाङ जिल्लामा भएको अभिलेख भएको छ ।

महिला तथा बालबालिकाविरुद्धका हिंसाका घटनामा प्रहरी प्रशासनमै मिलापत्र गराउने प्रवृत्ति कायमै रहेको खकुरेलले बताए । ‘बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा पीडितलाई न्याय दिनु राज्यको दायित्व हो,’ उनले भने, ‘तर आरोपितलाई धरौटीमा रिहा गरिने प्रवृत्तिले पीडित न्यायबाट वञ्चित भइरहेका छन् ।’

प्रदेश सरकारले हिंसा पीडित महिलाहरूका लागि सुरक्षित गृह निर्माण गरे पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको खकुरेलले बताउनु भयो । ‘संरचना बनेर मात्र हुँदैन, सञ्चालन नभएसम्म त्यसले प्रभावकारी रूपमा काम गर्न सक्दैन,’ उनले भने ।

गण्डकी प्रदेशमा राज्य पक्षबाट उल्लङ्घनका घटना यस वर्ष अभिलेख नभएको खकुरेलले बताए । महिलामाथि हुने हिंसामा परिवारका सदस्य, आफन्त र चिनजानका व्यक्तिहरू नै बढी संलग्न छन् । जसले गर्दा पीडितले न्याय पाउन थप कठिन भइरहेको छ उनले बताए ।

इन्सेकले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । यस वर्षको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा वातावरण अधिकारलाई प्राथमिकताका साथ समेटिएको छ ।

अन्य

भिडियो