सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधीमा ( सन् २०२४ जनवरीदेखि सन् २०२४ डिसेम्बरसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट १ हजार ९९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ फागुन ७ गते, धनगढीमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२५ र सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्था विषयक पत्रकारहरुसँगको छलफल कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सन् २०२४ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका १ हजार ८१ घटनामा १ हजार ९९ जना पीडित भएको र यस वर्ष मानव अधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी जम्मा ११ जना तथा ज्यादतीका १ हजार ७० घटनामा १ हजार ५४ महिला र ३४ जना पुरुषगरी जम्मा १ हजार ८८ जना पीडित भएको बताउनु भयो ।

यस वर्ष राज्य पक्षबाट कुटपिटका घटनामा दुई जना, गिरफ्तारीका घटनामा ६ जना, जेलमा मृत्यु घटनामा एक जना, हिरासतमा मुत्यु घटनामा एक जना र अमानवीय व्यवहार घटनामा एक जना गरी ११ जना पीडित भएको र अन्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ जना, घाइतेका घटनामा ११ जना, बाल अधिकारका घटनामा १ सय ५ जना, जातीय विभेदका घटनामा तीन जना, महिला अधिकारका घटनामा ९ सय ४७ जना, अमानवीय व्यवहारका घटनामा दुई जना, कुटपिटका घटनामा आठ जना र धम्कीका घटनामा तीन जना पीडित भएको संयोजक जोशीले बताउनु भयो ।
इन्सेक प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादर विश्वकर्माले सन् २०२४ मा इन्सेकले वातावरणीय अधिकारको अवस्थाका बारेमा अनुगमन गरी त्यसको तत्यतथ्याङ्क वर्ष पुस्तकमा समावेश गरेको बताउनु भयो ।

जिल्लामा वातावरणीय प्रभावका कारण आफू जन्मे हुर्केको ठाउँ र बस्तीमा बस्न नसकेर बसाइसराई गरेका, वायु प्रदुषणको अवस्था, खाद्य संकट, खानेपानी, सरसफाई, बाढीपहिरोका कारण नागरिकहरु थातथलो छोडर विस्थापित हुनु पर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा बसाइसराई गर्ने क्रम जारी रहेकोले राज्यले वातावरणीय प्रभाव नियन्त्रणका लागि काम गर्नु पर्ने प्रलेख अधिकृत विश्वकर्माले बताउनु भयो ।
