INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद कायमै रहदा दुई दिनपछि गरियो मानाको दाहसंस्कार !

दलित त्यसमा पनि दमाई थर भएकै कारण गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बसेका प्रकाश टेलर दमाईले आमाको दुई दिनपछि मात्रै अन्तेष्ठी गरेका छन् । ६१ वर्षीया आमा माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाँढा पाटन नगरपालिका–६ तिपडीगाडमा फागुन ४ गते दाहसंस्कार गरेका हुन् ।

सिगास गाउँपालिका–१ अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको ०८१ फागुन ३ गते बिहान ११ बजे मृत्यु भएको थियो । गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताउनु भयो ।

photo20250217baitadi (1)

आमाको मृत्युभएपछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुर जिल्लाको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगायतका आफन्तलाई बोलाएको प्रकाशले बताउनु भयो । २५ हजार रुपियाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई फागुन ४ गते मशानघाट पुर्‍याइएको उहाँले बताउनु भयो ।

समाजमा अहिले पनि गैर दलितले दलितको शव बोकेर मलामी जाने चलन नभए पनि प्रकाश टेलर एक्लो परिवार भएकाले राति शव कुर्न भने केही गाउँले जम्मा भएको स्थानीय ज्ञानेन्द्र ऐरीले बताउनु भयो ।

उहाँले भन्नुभयो, “शवलाई ट्याक्टरमा राखेपछि म पनि उहाँहरू सँगसँगै मोटरसाइकलमा मलामी आएको थिए । मसँगै मेरा पुसाई नरबहादुर साउद पनि मलामी जानुभएको थियो । गाउँ समाजमा दलितको शव काँधमा बोकेर मलामी जाने चलन छैन् । तर, राति शव कुर्न भने गैरदलित पनि आएका थिए । अरू मलामी नआए पनि यस्तो कुरीति हट्नु पर्छ भनेर म मलामी गएको हुँ ।”

photo20250217baitadi (3)

प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयमा मासिक ८ हजार रुपियाँ तलब पाउने गरी निजी श्रोतमा शिक्षण गर्दै आउनुभएको छ । ३० वर्षीय प्रकाश स्थानीय सामुदायिक वन उपभोक्ता समितिका सचिव समेत हुनुहुन्छ ।

प्रकाशको गाउँसँगै जोडिएका वरिपरिका टोलमा दलित, गैरदलित गरी करिब ३ सय मानिसको बसोवास छ । गाउँमा गैरदलित मात्रै होइन, दमाई जाति बाहेकका अन्य दलित समेत मलामी जान तयार नभएपछि प्रकाशले एक्लो अनुभूति भएको पीडा सुनाउनु भयो ।

गाउँ समाजमा अहिले पनि दलित भित्रै विश्वकर्मा र दमाई थरबीच भात तथा भान्सा र शवलाई काँध थापेर मलामी जाने चलन नभएको उहाँले बताउनु भयो ।

प्रकाशको परिवार करिब ४० वर्ष अघि पाटन नगरपालिका–४ बगाडी गाउँबाट सिगास गाउँपालिका–१ (साविकको गाँजरी गाविस–७) अङडेगाडा बसाइँसराइ गरी आएका थिए । सो गाउँमा बसोवास गर्ने अन्यको दाहसंस्कार गर्ने स्थान सोही ठाउँको डुब्केखोला भए पनि त्यहाँ शव बोकेर पैदल हिँड्नु पर्छ ।

photo20250217baitadi (2)

दिनभरि आँगनमा एक्लै शव कुरिरहेको खबर पाएपछि स्थानीय युवा ज्ञानेन्द्र ऐरी लगायतका केही युवाले रातभरि शव कुर्न सहयोग गरेपछि जनप्रतिनिधिको समेत ध्यानाकर्षण भएको थियो । गाउँका शिक्षित युवा सबै रोजगारीका लागि विदेश पलायन भएपछि गाउँमा मलामी जाने मानिस भेटिन मुस्किल भएको सिगास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामचन्द्र ऐरीले बताउनु भयो ।

गाउँमा एक्लो परिवारलाई प्रकाशको जस्तै समस्या हुने गरेको र मलामी जाने मानिस नहुँदा शव वाहन वा ट्याक्टरका लागि फागुन ३ गते कुरा गरे पनि फागुन ४ गते मात्रै एउटा ट्याक्टर तयार भएपछि दाहसंस्कारको काम सम्पन्न भएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो