सोनिया परियारको मृत्यु प्रकरणमा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा इन्सेककर्मीको पहलमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ ।
२१ गते राति काठेखोला गाउँपालिका-५ विहुँ स्थित आफ्नै घरमा मृत फेला परेकी १८ वर्षीया सोनियाका २४ वर्षीय पति अगन्धर दर्जीविरुद्ध माघ २७ गते उजुरी दर्ता भएको हो ।
प्रहरीले उजुरी नलिएको भन्दै पटकपटक पत्रकार र अधिकारकर्मीसँग सहयोग मागेका पीडितको उजुरी पत्रकार र इन्सेकको पहलमा दर्ता भएको हो ।
१३ वर्षको उमेरमा सन्तोषसँग प्रेम विवाह गरेकी सोनियाका चार वर्षका छोरा छन् । माघ २१ गते राति ९ बजे सोनियाले झुण्डिएर आत्महत्या गरेको भन्दै सन्तोषको परिवारले माघ २२ गते बिहान प्रहरीलाई खबर गरेका थिए । सोनियाकै घर छेउमा घर भएकी सोनियाकी दिदी पुर्णिमा परियारलाई राति १२ बजे खबर गरिएको पुर्णिमाले बताउनु भयो ।
सन्तोष र परिवारले पटकपटक कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने गरेको सोनियाले माइतीलाई बताउने गरेको माइती पक्षले जनाएको छ । सोनियाले दिदी पूर्णिमालाई मृत्यु हुनुभन्दा पहिले साँझ ७ बजे समेत सन्तोषले कुटेको भन्दै म्यासेज गरेको दिदी पुर्णिमाले बताउनु भयो ।
परिवारबाट बहिनीले यातना पाएको, पटकपटक जनप्रतिनिधि र प्रहरीको रोहवरमा मिलापत्र गरिएको भएपनि यातना सहन नसकेर मर्न बाध्य भएको बताउँदा समेत प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्षले पत्रकार र अधिकारकर्मी गुहारेको थियो ।
जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलले माघ २७ गते पीडित पक्षको उजुरी लिएको बताउनु भयो । उहाँले मृतकको मोवाइल फोन अनुसन्धानका लागि पठाइसकेको र थप अनुसन्धान समेत सुरु गरिएको जानकारी दिनु भयो ।