घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ ।
घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त पहलमा घर निर्माण गरी १२ घर मुक्त कमैया र दलित परिवारलाई घर हस्तानतरण गरिएको हो ।

घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले स्थानीय सरकार बिभिन्न संघसंस्थाहरुको साझेदारीमा नगरपालिकाले मुक्त कमैया र भूमिहीन दलितलाई सुरक्षित आवासको लागि घर निर्माण गरिएसँगै निरन्तर रुपमा मुक्त कमैया हलिया र मुक्त कम्लहरीहरुको पुनस्र्थापना र अन्य समस्या समाधानका लागि लागिपरेको बताउनु भयो ।
नगरपालिका भित्रका सबै वडामा रहेका मुक्त कमैया सुकुम्बासी, भूमिहीनहरुको लागि सुरक्षित आवास बनाएर हस्तान्तरण गरिने योजना रहेको र यसको लागि सहयोगी संघसंस्थाहरुसँग सहकार्य भइरहेको नगरप्रमुख रावतले बताउनु भयो ।

लालपुर्जा नभए पनि सुकुम्बासी समस्या समाधान आयोगले दिएको निस्साको आधारमा बसोबास गरिरहेका तर घर बनाउन नसकेका मुक्त कमैयाका एक परिवार र ११ दलित परिवारलाई सुरक्षित आवासका लागि घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन वर्डले बताउनु भयो ।
