INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको चरम समस्या, खोलाको पानीमा निर्भर

साँगुरीगढी गाउँपालिका-७ महाभारत क्षेत्रमा खानेपानीको चरम समस्या छ ।

खानेपानीको उपयुक्त व्यवस्था नहुँदा यहाँका स्थानीय खोलाको पानीमा निर्भर हुनु परेको छ ।

महाभारत क्षेत्रका स्थानीयको दैनिकी हरेक दिन विहान खानेपानी ल्याउनको लागि घण्टौं पैदल हिँडेर माखावा खोला पुग्नुपर्ने अवस्थाबाट सुरुआत हुन्छ । खडेरीका कारण बस्ती नजिकका कुवा, पँधेरो सुक्दै गएपछि पानी जोहोका लागि दुई घण्टा टाढाको माखावा खोला धाउनु पर्ने बाध्यता यहाँका स्थानीयको दैनिकी नै बनेको छ ।

पानीको लागि कतिको बिहान बित्छ त, कति परिवारका बालबच्चाको स्कुल नै छुट्ने गरेको महाभारतका ६१ वर्षीय महाप्रसाद राईले बताउनु भयो । “जहिलै घण्टौ लगाएर पानी बोकेर खानुपर्ने बाध्यता छ ।” राई भन्नुभयो । “त्यसो त पानी समस्याकै कारण केही बालबालिका विद्यालय समेत जानबाट वञ्चित हुनु परेको छ ।”

महाभारतकी ३१ वर्षीया जुना राई पानीकै कारण आफूहरुको स्कुले जीवन गुमेको बताउनु हुन्छ । तर, आफूभन्दा पछाडिको पुस्ता पानीको समस्याबाट टाढा हुने आशा रहेको जुनाको भनाइ छ । “हाम्रो स्कूले जीवन पानीकै कारण गुमाउनु पर्यो, तर अबका भाइवहिनीले पानी अभावका कारण स्कूल गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने होस भन्ने चाहना छ ।” राईले भन्नुभयो ।

खानेपानीको समस्या बढ्दै गएपछि ०७२ सालबाट महाभारत क्षेत्रमा लिफ्टिङ खानेपानी योजना सञ्चालन भएको छ । क्रमागत योजना तथा बजेट अभावकै कारण उक्त खानेपानी योजना सम्पन्न गर्नका लागि झण्डै सात वर्ष वितिसकेको छ ।

अहिले साँगुरीगढी गाउँपालिका ७ माखावा लिफ्टिङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । माखावा खोलादेखि १ हजार ३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा लिफिटङ प्रविधिबाट पानी झारिएको छ ।  तर, अझै पनि खानेपानी वितरण भने सुरु भइसकेको छैन ।

माखावा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ओमप्रकाश राईले खोलाबाट संकलन गरिएको पानीलाई दुई स्थानवाट लिफ्ट गरिएको बताउनु भयो । खोलादेखि ६ सय ३९ मिटर उचाईमा रहेको एप्मालामा रहेको करिव ५० हजार लिटर क्षमतामा ट्याङ्कीमा पानी झारिएको छ । त्यहाँदेखि ५ सय ५० मिटर उचाईमा रहेको पोखरी डाँडाको करिव ५० हजार लिटर ट्याङ्कीमा झारिएको सचिव राईको भनाइ छ ।

योजनाबाट साविक महाभारत गाउँ विकास समितिका-१, २, ३ र ४ वडाका २ सय ५० भन्दा वढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताउनु भयो ।

खानेपानी योजनाले गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोङ्गजाली, खाक्चीराङ्ग, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ ओटा टोल समेटिने तयारी गरिएको छ ।

पोखरीडाँडामा संकलन गरिएको पानीलाई ६ ओटा स्थानमा ट्याङकी निर्माण गरि वितरण गरिने  तयारी आयोजनाको छ ।

अहिले उभोक्ताको घरसम्म पाइप विछ्याउने तथा मटर जडानको कार्य भइरहेको छ ।

महाभारत क्षेत्रको खानेपानी समस्या समाधानको लागि लिफ्टिङको विकल्प नरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले बताउनु भयो ।

योजनालाई चाँडो निर्माण सम्पन्न गराउने गाउँपालिकाले खानेपानीको मुहानसम्म करिव डेढ किलोमिटर सडक सरसफाइ तथा ट्याक खोल्ने काम गरेको छ ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जीतेन्द्र राईले निर्माण सुरु भएको लामो समय वित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय वासिन्दा निराश भएपछि पटक पटकको ताकेतामा योजना सम्पन्न हुने चरणमा रहेको बताउनु भयो ।

खानेपानीको चरम समस्याका कारण वसाई सर्नुपर्ने स्थितिसम्म आएको थियो अब महाभारत क्षेत्रमा त्यो समस्या हट्ने छ, स्थानीयलाई सहज हुने गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

photo 202502010 dhankuta (1)

photo 202502010 dhankuta (2)

photo 202502010 dhankuta (3)

अन्य

भिडियो