निसीखोला गाउँपालिकामा गत वर्ष मात्रै ६० जना भन्दा बढी गर्भवती घरमै सुत्केरी भए । जसमध्ये दुई जना सुत्केरीको ज्यान गयो ।
घरमै हुने सुत्केरीको सङ्ख्या गाउँपालिकाको तथ्याङ्कमा आउन नसक्दा समस्या झनै थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा २ सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भएपनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमै समस्या छ ।
अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोर जस्ता गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ ।
अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलीभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ ।
जनचेतनामुलक कार्यक्रम गरिरहेको गाउँपालिकाले सबै भर्गवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती मगरले जानकारी दिनु भयो ।
मगरका अनुसार गत आर्थिक वर्षमा आठ जना मात्रै घरमा सुत्केरी भएको तथ्याङ्क सङ्कलन गरिएको भएपनि उक्त तथ्याङ्क समुदायसँग मेल नखाने स्थानीयले बताए ।
घरमा सुत्केरी हुनेको तथ्याङ्क अध्यावधिक गर्न गाउँपालिकालाई समस्या परिरहेको उहाँको भनाई छ । फिल्डमा पुग्दा स्वास्थ्य संस्थामा भन्दा धेरै गर्भवती घरमै सुत्केरी भएको पाइएको पनि उहाँले बताउनु भयो ।
चालु आर्थिक वर्षमा सात जना गर्भवती घरमा सुत्केरी भएको महिला स्वास्थ्य स्वयम्सेविकाबाट जानकारी आएपनि घरघर अनुगमनमा जाँदा सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उहाँको भनाई छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदयाको रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताउनु भयो ।
मगरका अनुसार बालबिबाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनीहरु अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य स्वयम्सेविकालाई ढाँट्ने गर्दछन् ।
निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका २ सय १३ जनामध्ये ५८ जना सुत्केरी २० वर्षभन्दा तलका भेटिएको छ । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्षभन्दा तलकाले बच्चा जन्माइसकेको गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।